साउन १७, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अब पार्टी विवादमा नअल्झिने निष्कर्षमा पुगेका छन् । उनले विद्रोही पक्ष (माधव पक्ष)का कुराहरु सुन्न नहुने पनि निष्कर्ष निकालेका छन् ।
शनिबार एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा पनि उनले नेपालसहित उनी पक्षका केहि मुख्य नेताहरुलाई एमालेमा भित्र्याउन नहुने निष्कर्ष सुनाएका थिए । माधव पक्षले पार्टीलाई थप समस्यामा पुर्याउने उनको भनाई थियो ।
‘माधव नेपाल जस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,’ एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने । त्यस्ताका लागि ठाउँ छैन ।’
सुनेनन् वार्ताकार नेताहरुको भनाई
आइतबार दिउँसो ओलीले आफुँ पक्षीय स्थायी समितिको बैठक बोलाएका छन् । उनले पार्टी विवादसहितका केहि एजेण्डामा महत्वपूर्णं निर्णय गर्ने पनि तयारी गरेका छन् ।
यस्तोमा पार्टीको एकताको प्रयासमा लागेका दोस्रो तहका नेताहरु दुई नेताहरुलाई मनाउने र मध्यमार्गी बाटो खोज्ने प्रर्यत्नमा छन् । तर, मध्यमार्गी पथको खोजी गरिरहेका नेताहरु भीम रावल र सुरेन्द्र पाण्डेले राखेको प्रस्ताव भने ओलीले ठाडै इन्कार गरेका छन् ।
आइतबारको बैठकलाई स्थगित गरि पार्टी मध्यमार्गी उपायको खोजी गर्न आग्रह गर्न पुगेका रावल र पाण्डेको सुझाबलाई उनले इन्कार गरिदिएका हुन् । उनले अब अल्झेर नबस्ने भन्दै स्थायी समिति बैठकबाट नयाँ ढंगले बढ्ने पनि प्रष्ट्याएका छन् ।
ओलीलाई मनाउन शनिबार साँझ बालकोट पुगेका रावल र पाण्डे निराश मुद्रामा फर्किएका थिए । उनीहरुले पनि विवाद मिलाउन कठिन रहेको निष्कर्ष निकटलाई सुनाएका छन् ।
सम्बन्धित समाचार
एमाले स्थायी समिति बैठक बस्दै, पार्टी विवादबारे ठोस निर्णय गर्ने तयारी
ओलीको अराजक अभिव्यक्ति : माधव नेपाल देशद्रोही र अपराधी हुन्, ठाउँ दिन सकिन्न
वि.सं.२०७८ साउन १७ आइतवार १२:३८ मा प्रकाशित






























