१८ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ ।
मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो ।
मकै, कोदो, धान, गहुँ, केराउलगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी छन्त्यालले जानकारी दिए ।
केन्द्रमा मुसिकोट नगरपालिका– २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिनेछ । त्यसका साथै बलिथुम, मजुवा फाँटलगायत स्थानमा उत्पादन भएको खाद्य बालीको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गर्ने छन्त्यालले बताए।
बीउ उत्पादनका लागि मुसिकोट नगरपालिका–३ मा रु ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै वर्ष उत्पादन हुने मकै भदौ महिनादेखि भण्डारण गरी बीउ उत्पादन गर्न शुरु गरिने छन्त्यालले बताए।
मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको सङ्ख्या ६ पुगेको छ । यसभन्दा पहिले मालिका गाउँपालिका– ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०÷२० मेट्रिकटनका दुई वटा प्रशोधन केन्द्र स्थापना भएका छन् ।
मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेट्रिकटन, इस्मा गाउँपालिका–६ चौरासी र रेसुङ्गा नगरपालिका–१० मा २०÷२० मेट्रिकटनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले जानकारी दिए।
मालिका, मदाने, इस्मा र रेसुङ्गामा आर्थिक वर्ष २०७३÷७४ देखि ७६÷७७ को अवधिमा स्रोत केन्द्रको निर्माण सम्पन्न भएको हो भने मुसिकोटको स्रोत केन्द्र आव ०७७÷७८ मा निर्माण सम्पन्न भएको काफ्लेले जानकारी दिए।
जिल्लाका सबै बीउ प्रशोधन केन्द्रबाट एकपटकमा १५० मेट्रिकटन बीउ उत्पादन गर्न सकिने कार्यालय प्रमुख काफ्लेको दाबी छ । गुल्मीमा मनकामना तीन, अरुण दुई, रामपुर कम्पोजिटलगायत मकैको बीउ उत्पादन हुँदै आएको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार १२:२६ मा प्रकाशित






























