साउन १८, काठमाडौं । केहि दिनदेखि नेकपा (माओवादी केन्द्र)को सम्पर्कमा नआएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली फेरि एमाले प्रवेश गरेकी छिन् । सोमबार विज्ञप्ती सार्वजनिक गर्दै उनले आफुँ एमालेमै फर्किएको बताएकी हुन् ।
आफू सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेको हुँदा माओवादी रोज्ने कुरा कानुनी रूपमा ठिक नभएकोले एमालेमा रहेको उनले स्पष्ट पारेकी छन् ।
तत्कालिन समय नेकपाबाट चुनाव जितेकी वील नेकपा विभाजित हुँदा माओवादी तर्फ लागेकी थिइन् ।
‘मैले सूर्य चिन्हबाट चुनाव जितेको र अहिले सूर्य चिन्ह एमालेको रहेकोले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रूपमा ठिक नभएकोले एमालेमै रहेको स्पष्ट पार्दछु, नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिन्ह सूर्यबाट म चुनावमा उम्मेदवार भएको हो’, वलीले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ,‘पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टीको दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नु हुन सबैमा आग्रह गर्दछु।’
उनी एमालेमा फर्किएसँगै लुम्बिनीको अंकगणित फेरिएको छ । ८० सदस्यीय प्रदेशसभामा वलीसहित एमालेको सांसद संख्या ३९ पुगेको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार १६:५८ मा प्रकाशित






























