back
CTIZAN AD

नेपालमै पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

वि.सं.२०७८ साउन २९ शुक्रवार

981 

shares

२९ साउन । खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस्म्यानेजमेन्ट ’ (बिएसएम) को अध्यापन शुरु गर्न लागिएको हो । विश्वविद्यालयले खेलकुद विषय अध्यापनका लागि अहिले भर्ना आह्वान गरिसकेको छ । यही साउन मसान्तसम्म विद्यार्थी भर्ना आवेदनको कार्यक्रम प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।

प्रदेश सरकारले प्रदेशमा प्राविधिक दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित दुई वर्षअघि विश्वविद्यालयको स्थापना गरेपछि यस वर्षदेखि विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम अघि बढाएको हो । बिएसएमसहित यस वर्षदेखि ब्याचलर इन इन्फरमेशन टेक्नोलोजी९बिआइटी०को पनि अध्यापन सुरु हुनेछ ।

देशमै पहिलोपटक स्नातक तहमा बिएसएमको चार वर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई खेलकुदका सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने विश्वविद्यालयका उपकुलपति प्रा डा नवराज देवकोटाले बताए । उनका अनुसार अधिकांश पाठ्यक्रम अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएर बनाइएको छ । पाठ्यक्रमममा १० देखि १२ वटा खेलका विषयमा सैद्धान्तिक अध्ययापनसमेत हुने बताइन्छ ।

“नेपालमा अहिलेसम्म स्पोर्ट्समा युवालाई आकर्षण गर्ने कार्यक्रम देशका कुनै पनि विश्वविद्यालयमा नरहेकाले नयाँ सन्देश दिने गरी हामीले सुरुआत गरेका हौँ”, उपकुलपति देवकोटाले भने, “अध्यापनको मुख्य उद्देश्य युवालाई खेलकुद व्यवस्थापक, म्यानेजर, प्रशिक्षक, रेफ्रिसहित खेलकुद कार्यक्रम सञ्चालनमा सक्षम बनाउनु सँगसँगै खेलाडी बन्नसमेत सघाउने छ ।”

आठ सेमेष्टरमा सञ्चालन हुने कोर्षमा भलिबल, फुटबल, तेक्वान्दो, कराँते, ह्याण्डबल, एथलेटिक्स, जिम्न्याष्टिक, बास्केटबल, आर्चरी, ठेलो, क्रिकेट र स्विमिङलाई समावेश गरिएको छ । यसैगरी खेलकुद मार्केटिङ, खेलकुद अर्थतन्त्र, ‘फन्डिङ इन स्पोर्ट्स’, ‘स्पोर्ट्स टुरिजम’, ‘स्पोर्ट्स इन ग्लोबलाइजेशन’, ‘स्पोर्ट्स इन मिडिया’, ‘स्ट्राटेजिक म्यानेजमेन्ट इन स्पोर्ट्स इन्डष्ट्रिज’, ‘एथलेटिक्स केयर एण्ड रिह्याविलिटेसन’ लगायतका विषय पाठ्यक्रममा राखिएको छ ।

स्नातक तहमा खेलकुद विषयको अध्यापनबाट एक सक्षम खेल प्रशासक र खेल व्यवस्थापक बन्नका लागि विद्यार्थीलाई पर्याप्त ज्ञान प्राप्त गर्ने विश्वास लिइएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले नेपालको खेलकुद विकासका लागि सो कार्यक्रम कोसेढुङ्गा बन्ने बताए ।

उनले भने, “खेलकुदमा भविष्य खोज्नेका लागि गण्डकी प्रदेशले एउटा सुनौलो ढोका खोलिदिएको छ । खेलकुदको प्रचुर सम्भावना भएको पोखरामा यस विषयको पढाइले खेलकुद व्यवस्थापन र खेलकुदमा दक्ष जनशक्ति उत्पादनमा सघाउने छ ।” स्नातक तहमा चार वर्षे बिएसएम कार्यक्रमको शुल्क रु तीन लाख ३० हजार रहेकामा विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था गरिएको विश्वविद्यालयले जनाएको छ । पहिलो वर्ष ५० विद्यार्थीका लागि कोटा रहेको र आगामी दशैँपछि कक्षा सञ्चालनको तयारी छ ।

स्नातक तहमा चार वर्षे कोर्ष पूरा भएपछि स्नातकोत्तर तहमा पनि खेलकुद विज्ञानका विषयमा अध्यापन गरिने छ । नेपालको संविधानले उच्च शिक्षाको व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएको छ । यसैगरी माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १०:२५ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...