सेवा हो जनको पवित्र मनको निश्वार्थको भाव होस्
अर्काको उपकारमा मगजमा सद्भावको चाङहोस् ।
माटोमा पसिना भिजाइ छपकै बाली उमारौं अब
ढुङ्गामा पनि देव देख्न सकिने मान्छे बनौं है सब ।।
त्यागी बन्न सकौं बचाइ समता ज्ञानी बनी लोकको
हाम्रो सीप छ जे बगाइ पसिना उर्जा बनौं भोकको
अज्ञानी नबनौं बुझेर जन हो साह्रै ढिला भो अब
ढुङ्गामा पनि देव देख्न सकिने मान्छे बनौं है सब ।।
सच्चा मानवको लिएर रुपनै लागौं सधै कर्ममा
हर्षै हर्ष नछोडि सत्य पथमा सेवा हुने धर्ममा ।
त्यागौं काम र क्रोध मोह जतिछन् माश्चर्य त्याग्छौं जब
ढुङ्गामा पनि देव देख्न सकिने मान्छे बनौं है सब ।।
स्वार्थैको दहमा नफस्नु कहिले राम्रो बनोस् भावना
त्यागौ दम्भ घमण्ड लोभ अहिले सत्मार्गको कामना ।
सेवा भाव दयाँ क्षमा र ममता जाग्रीत होस् है अब
ढुङ्गामा पनि देव देख्न सकिनै मान्छे बनौं है सब ।।
नाच्दा ताण्डव तालले हरजगा उत्पात मच्चाउने
बाटो बिर्सन हुन्न हे मनुज हो सत्मार्ग पैंलाउने ।
बाल्नै पर्छ अखण्ड दीप दिलमा विस्वास जाग्ला तब
ढुङ्गामा पनि देव देख्न सकिने मान्छे बनौं है सब ।।
छन्द-शार्दुल
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:२१ मा प्रकाशित






























