साहूको रिन तिर्न सक्छुकी भनी आए विदेशी हुन
केही जोर चलेन जेजति गरूँ बाँकीछ यौटै रुन
बाबा ! विर्सन सक्छु आज कसरी नेपाल मेरो घर ।
जन्मेको घरवार भुल्न सहजै कस्ले कहाँ सक्छ र ?
बस्दै यो मरुभूमिको कहरमा खट्दैछु रातो दिन
टुङ्गो कत्ति हुँदैन खान पिनको मिल्दैन एकैछिन
भाषा धर्म सबै बुझेर नसकी बाधा अनेकौं खपी
सारा दुःख सहेर उष्ण भुइँमा कुर्दैछु भाका थपी ।
तातो घाम छ बालुवा बगरमा भेडा चराई कन
ज्याला ठग्दछ साहुले सुख न भै बित्ने भयो जीवन
सम्झेकोछु कठोर दुःख घरको चिन्ता मनैमा हुने
साहूका ऋणको छ बोझ शिरमा सम्झेर आत्मा रुने ।
बेच्यो एक दलालले अरबमा वर्सिन्छ पैसा भनी
साच्चै हो कि भनेर फस्न म पुगें अत्यन्त सोझो बनी
केही खर्च पठाउँथें यदि भए पैसा कहाँ पाउने
भोकै छन् घरमा पिता र जननी चिन्ता मनैमा हुने ।
रातो बाकस भित्र लास नफिरोस् नेपाल मेरो घर
आयो लास भने कदापि नरुनु प्यारी तिमीले तर
तिम्रो शेष छ जिन्दगी कति अझै काट्नैछ धेरै दिन
छोरी साथ लिएर बस्नु घरमा आफै बुझाएस् मन ।
आत्मा शान्त भएर पुग्दछ जसै इच्छा छ मेरो जति
अर्को जन्म भयोभने सँगसँगै हौँला दुबै दम्पती
इच्छा आउनको छ बस्न घरमा बाँचें भने क्यै गरी
तिम्रै साथ हुनेछु दुःख सुखमा हाँसेर जन्मै भरि ।
छन्द– शार्दूलविक्रीडित
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:२२ मा प्रकाशित






























