आऊ बसन्त मनमन्दिरमा रमेर
छाऊ छिटै अब तिमी नगरेर बेर
तिम्रा बहार दिलको पद पर्खिएर
बाँच्दैछु आज मन यो सब तड्पिएर ।
बग्नेछ यो कलममा जब त्यो पियार
प्यासी बनेर पिउला तब प्रेमधारा
भज्दैछ आउनु भनी नव पालुवाले
खोज्दैछ बाग लतिका अनि यो धराले ।
फोडेर पत्थर सबै रस यो उमारी
बाँडेर प्यार भर नित्य पसी छहारी
बन्ला अवश्य भव कान्तिपुरी बनाऊ
चाडो गरि प्रगतिका पथ खोल्न आऊ ।
मासेर कल्मषहरू मनका बिराम
नासेर गर्त गहिरा भवका चिहान
पाऊँ म देख्न खुसीले हर चम्किएका
छाई वसन्त पथमा सब लम्किएका ।
छन्दः बसन्ततिलका
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:४१ मा प्रकाशित






























