म मृतकको चितामा जल्न नसकी
घाटमा नै मलामी छोडेर उठेर आएको छु
यहाँहरुको माथिल्लो सदनमा
मेरो एकथान ज्ञापन पत्र बोकेर,
गरिबीको जर्जरतालाई किनारा लगाएर
साहुको ऋण चुक्ता गरी
परिवारमा एकसरो कपडा फेर्ने हेतु र
चिसो चुलोर भाँडाको सम्बन्ध गास्ने उद्देश्यले,
कयौं सपनाका रङ्गीन अक्षता झल्काउँदै
खुसी भरेर ल्याउने रित्तो झोला बोकि
बिहानी झुल्के घामको साइत बनाएर
दार्चुलाको माया पाउभरी समेटेदै
मुग्लान तर्फ अघिबढेका मेरा पाइलाहरु
गन्तव्यमा नपुग्दै
भारतीय एसएसबीको हातमा
ट्क्क रोकिदै ! सारा सपना
महाकाली नदीको तुइन संगै
चुँडिदै नदीमाथि बजारिए र
महाकाली नदीलाई सिरानी बनाएर
अस्ताएको छ जयसिंह धामी
अनि !
पखालियो रङ्गीन अक्षता र
नदी संगै बग्दै गयो
बिदेशी रोजगार थमौतिको
उचाल्नै नसक्ने एकथान राहदानी,
यदि दुश्मनलाई काखिमुनी लुकाई
मैले न्याय पाउदिन भने
महाकाली नदीबाट मेरो लास
उठाएर पठाइदिऊ
एसएसबीको हातमा राखी
लैजाऊ तिम्रै देशको म्युजियममा
सजाएर राख भनेर !!
फर्केर हेर त !
उता गरिबीको बाफिलो रापभित्र
सुस्केराइरहेको मेरो पराले झुपडी
गर्ल्याम्गुर्लुम ढलेर अलपत्र बनेको छ
मेरो मृत्युको खबरले जहानपरिवार,
ए सरकार मेरो के दुश्मनी थियो !
त्यो पारी गाउँको छिमेकीसँग ?
किन खेलो मेरो छातिमाथि परेड र
काटिदियो म सफर गर्दैगरेको तुइन ?
मैले मेरै माटोमा उस्को हातबाट
मेरो सुनौलो जीवन
रोप्नुपर्ने कारण के थियो ?
मिल्छ भने
माथि इजलासका ढड्डा पल्टाइ गरिदेउ
मेरो न्यायको फैसला र
राखिदेउ क्रुर दुश्मनी हत्यारालाई
आजीवन कारागार,
यदि दुश्मनलाई काखिमुनी लुकाई
मैले न्याय पाउदिन भने
महाकाली नदीबाट मेरो लास
उठाएर पठाइदिऊ
एसएसबीको हातमा राखी
लैजाऊ तिम्रै देशको म्युजियममा
सजाएर राख भनेर !!
अनि यता हटाइदेउ
काठे साँघु र तुइन
बनाइदेउ फलामे पुलहरु
अनि मर्ने छैनन् अकालमा म जसरी
अरु जयसिंहहरु र खोज्न आउने छन्
ति पुलहरु तरेर मलाई,
दुश्मनलाई लखेट्दै
ति नेपाली नौजवानहरु
अनि रुनुपर्ने छैन
महाकाली नदीसँग
मेरो अश्रुधारा मिसाउँदै मैले !!
त्यसैले त यो ज्ञापन पत्र
टक्र्याउन आएको हुँ यहाँसम्म ।
प्रतिमा पोख्रेल (नयाँ सृष्टि), अरुण गा.पा.५, भोजपुर
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:५३ मा प्रकाशित






























