चितवनबाट विभिन्न देशमा काम गर्न गएका युवाद्धारा छरिएर रहेको पुँजिलाई एकीकृत गरी व्यापार व्यवसाय गर्न तथा सामाजिक क्षेत्रमा सहयोग गर्न ‘युनाईटेड कलेक्टिभ फोरम’ निर्माण गरिएको छ । एनआरएनएका केन्द्रिय सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एबं समाजसेवी सोम सापकोटाको नेतृत्वमा फोरम गठन भएको हो ।
फोरमको सहसंयोजकमा कतारमा कार्यरत चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष ईश्वरराज पौडेल रहनुभएको छ । उहाँहरुसँगै विभिन्न ८ देशमा संयोजक समेत तोकिसकिएको पौडेलले जानकारी दिनुभयो । चितवनमा आएर उद्योग व्यवसाय सञ्चालन गर्न र सामाजिक क्षेत्रमा समेत सहयोग गर्न फोरम बनाईएको हो । उहाँका अनुसार सो फोरमको ईजरायल संयोजकमा शान्ता अधिकारी ज्ञवाली, साईप्रसमा जसु पुन मगर, आयरल्याण्डमा चेतराज वली, कोरियामा दुर्लभ पोखरेललाई जिम्मा दिईएको छ । यस्तै बहराईन प्रकाश लामिछाने, युएईमा गणेश न्यौपाने, कुबेतमा डिवि लोप्चन, कतारमा समिर केसी र जापानमा राजन श्रेष्ठलाई संयोजक तोकिएको छ ।
सानो पुंजि अनुत्पादक क्षेत्रमा लगानी भएको छ, त्यसैलाई उत्पादन क्षेत्रमा लगानी गर्ने फोरमको उद्देश्य रहेको सापकोटाले बताउनुभयो । चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार समेत रहनुभएका सापकोटाका अनुसार सिटी होटल, कृषि पर्यटन, क्षेत्रमा सानो पुँजिलाई लगानी गर्न पहल गरिने छ । मुख्य गरी मध्यम उद्योग सञ्चालन गरेर स्वरोजगार बनाउने र पर्यटन विकासमा योगदान दिने लक्ष्य राखिएको सापकोटाको भनाई छ । केही महिनाभित्रमा खाका सहित आर्थिक संकलन अभियान थालिने उहाँले बताउनुभयो । यसमा ५० हजार देखि १ करोड सम्म लगानी गर्न सकिने छ । सँगसँगै वैदेशिक रोजगारीमा जानका लागि तालिम समेत प्रदान गरिने योजना रहेको जनाईएको छ ।