Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

मास्टर र कुखुरो



shambhu paneru

एकजना साथीको घरमा चानस वस श्राद्धको दिन पुगेछु । श्राद्ध खान पाइयो । अचार, पुरी, तरकारी, दाल भात दही, पुरौला आदि । साथी पूर्व मास्टर थिए म पनि त्यस्तै । साथीले बहालवाला मास्टरलाई सम्झे । खबर गरेर श्राद्धको अचार, पुरी फुरौला चखाऊ भनेर । तर मास्टरको बाले प्रतिक्रिया जनाईहाले मास्टरहरु आउँदैनन् उतै कुखुरा खाएर ढाडिएका होलान् के आउँथे । उनको कुरा सुन्दा अलि अलि हाँसो उठो र विगतको सम्झना पनि आयो । आफूले पनि कुखुरा खाएको कहिलेकाँही । तर ढाडिने गरी त कहिले पो खाईयो र । यत्तिकैमा वहालवाला मास्टरको सम्झना आयो, पूर्व मास्टरको बाले भनेजस्तै ढाडिने गरी कुखुरा खान सिंगासिंगै बडा बडा कुखुरा ढाल्नुपर्छ भन्ने भनाई । जाबो एउटा कुखुरो काटेर आठ दश जनाले खाँदा कति ढाडिए होला ।

तर ति मास्टरको बाबुको मनमा भने किन त्यस्तो धारणा बसेको ! मास्टरको बाले सम्झाई दिदा मास्टरहरुसँगै कुखुराहरुको यादको ओइरो मनमा लाग्न थाल्यो । मास्टरहरु प्रा.वि.का, नि.मा.वि का ठिटा मास्टर, बुढामास्टर अधवैंशे मास्टर आदि । मिसहरु भर्खर जागिरमा प्रवेश गरेका, पढाउँदा पढाउँदै थाकेका आदि आदि । त्यस्तै कुखुराहरु पनि सम्झँदै गईयो । आफू वहालवाला मास्टर हुँदा कस्ता कस्ता खाईयो र पूर्व मास्टर बनेपछि साथिहरु ईष्टमित्रले कस्ता कस्ता र कत्रा कत्रा खुवाए । काला, राता, सेता छ्यासमिसे कलर भएका आदि । तर कहिले काँही मात्र खाईयो पहिले पनि । अहिले पनि सधैं कहाँ पाउनु । तर हाम्रा पूर्व शिक्षकका बा र अन्य गाउलेको धारणा यो छ कि सधैं मास्टरहरु कुखुरा खान्छन् ।

सम्झदै गर्दाखेरी पुरानो कुराको याद आयो हामिलाई क ख सिकाउने गुरुहरु लुङ्गी लगाएर स्कुल जान्थे । विद्यालय गएर हाजिर साजिर गर्ने दाँत साँत राता निला जाँच्दथे, होमवर्क हेरे पछि ढड्डु ढड्ढुु ठिटाहरुलाई दुनोट वा कक्षागीत गाउन खेताला लगाईएको एक छिन पछि हराउँथे । एक दिन एक जना बुढा बाले सोधे कि तिमिहरुको सर कहाँ जान्छन् थाहा छ ? हामिले भन्यौं थाहा छैन । बुढो बाले भने कुखुरो काट्न गए पसलमा । हामीलाई पनि चासो लाग्यो कसरी कुखुरो काट्दा रहेछन् सरहरुले । दुई तीन जना मिलेर लुसुक्क गइयो पसलतिर घर जाने भन्दा उल्टो बाटो परे पनि । सरहरु साँच्चै रातो भाले भुत्लाउँदै रहेछन् । हामीलाई देख्नेवित्तिकै गर्ने ए ! भुरा हो भाग । हामी ठाडो पुच्छर लगाएर कुलेलम ठोक्यौं र थापायौं कि मास्टरहरु कुखुरा खादा रहेछन् ।

म एउटा मा.वि. स्कुलमा मास्टर जागिर खाँदाको कुरा हो । हामी वार्षिक परीक्षाको रिजल्टको तयारीमा थियौं । कामको लोड पनि चर्कै थियो । विद्यार्थीका प्राप्ताङ्कहरुलाई रजिष्टरमा व्यवस्थित ढंगले राख्ने । पहिलो, दोस्रो, तेस्रो कक्ष १ देखि १० सम्मको काम माम्मारी थियो । यसै अवस्थामा एक दिन विद्यालयका सरहरुबाट कुखुरा खाने प्रस्ताव आयो । हेडसरले त्यो प्रस्ताव सहर्ष स्वीकार गरेपछि कुखरो खोजि कार्यक्रमको लागि मैले नियुक्ति पाएँ । दुईवटा राता भालेको खोजिमा एक्लै गाउँ पुगे । त्यहाँ आठ नौ महिना छाडा लगाएर पालेका दुई वटा राता भाले छानियो । कुखुरा धनी सरहरुलाई खुव आदर गर्दा रहेछन् । मास्टरको मोलमा किनेर चलेँ म पनि स्कुलतिर ।

बाटामा मैले एक जना सरलाई भेटें उहाँ कुखुरो सँग मोलेर खान चिउरा लिन आउनु भएको थियो । उहाँले सोध्नुभयो कतिमा किन्यौं ? मैले भने एकसय पच्चीसका दरले । उहाँले जिब्रो काढ्नुभयो । मलाई डर लाग्यो की भाले महंगो भयो भनेर । तर उहाँले भन्नुभयो मैले भए यी भाले दुई दुई सय घटी मास्टरहरुको पेटमा पार्दै पार्दिन थिए । तिमि सोझा रहेछौ । आदी सस्तो ल्याएर तिमिले भाउ बिगारेउ, त्यसो होइन, हामी दुईजना मिलेर नाफा खाऔं, स्कुलको पैसा जाने त हो नी आज त ।

चार सयमा किनेको भनौं नाफा आदि आदि पारौं । मैले उहाँको कुरा बुझें कि कुखरा खरिद कार्यक्रममा नियुक्ति पाए आदि नाफा खानु हुँदो रहेछ सरले । मैले उहाँको कुरा मानिन । नाफै खान परे पनि किन उहाँलाई पनि खुवाउनु सित्तैमा आदि । म एक्लैले खाने अधिकार सुरक्षित भएपनि आफ्ना सरहरुलाई भुराहरुसँग उठाएको फि बाट सुपथ मूल्यमै खुवाईदिऔं जस्तो लाग्यो । र जवाफ दिए मचाँही नाफा खान्न तपाईलाई पनि खुवाउदिन गुरु ! बरु चिउरामा सकेजति नाफा खानोस् म हल्ला गर्दिन । सर हाँस्नु भयो अनि दुबै जना लाग्यौं स्कुलतिर । पाले दाइको मद्दतले कुखुरा खुईल्याएर भुटियो । भान्से लाग्ने बेलामा चार पाँच जना सरहरु भइ कुखुरो भुट्दा भुट्दै एकै पिस चाख्दै जाने क्रम चल्यो । नुन, मसला, पिरो र काँचो पाको के छ ? बुझ्दा बुझ्दै आदि खतम् । यसै समयमा हाम्रा हेडसर मासु पकाई कार्यक्रम स्थलतर्फ लम्किएर आउन लागे जस्ते भान हामीलाई लाग्यो । मुखभरीको मासुको बुजो के गर्ने ? हामीलाई फसाद प¥यो । हत्त न पत्त स्टोर कोठा भित्र छिरेर मक्ल्याक मुक्लुक चपाएर चुलो तर्फ आएको त हेडसर आएकै होइन रहेछन् ।

एक दिनको कुरो हो मेरो गाउको नि.मा.वि स्कुलमा जापानिज नागरिहरु आए । उनीहरुले विद्यार्थीहरुको लागि कापी, कलम, खेलौना चक्लेट र अन्य उपहारहरु तथा शैक्षिक सामग्रीहरु ल्याई दिए र विद्यालयमा रात विताउने ईच्छा व्यक्त गरे । उनीहरुको सत्कार विद्यालयले लोकल कुखुरा, लोकल रक्सी र लोकल चामलको भातले गर्ने सुर कस्यो । त्यसै अवसरमा सबैजसो सरहरु समितिहरु म जस्तो भाग्यमानीले पनि लोकल कुखुरोको स्वाद लिन पाइनेमा मनमनै दंग थियौं । पाँच वटा लोकल कुखुरो मगाईयो । मैले जापानिजको लिडरलाई सोधें पिरो कत्तिको खाइन्छ ? उनले भने पिरो त नभए पनि हुन्छ, हाल्नु नै हुन्छ भने अलिकति वाचा मात्र ।

मैले भान्छेहरुलाई पिरो थोरै राख्न भनें र हामी जापानिजहरुसँँग गफ गर्दै रहयौं । केहि छिन पछि सरहरुबाट मलाई बोलावट भयो, कुखुराको मासु चाख्नकोे लागि । म जानुभन्दा पहिला नै मेरो नाममा चाखरुहरुले दुई प्लेट जति हजम पारि सकेछन् । मैले एक चोक्टा सुघ्ननै नपाई, तेस्रो प्लेट मगाईयो र चाखरुले भने मासु चाख्न बोलाएको कति गफ गरेर बसेका बुढा । एउटा चौटा मासु मुखमा के हालेको थिए आगो जस्तो पिरो, सि.. सि.. गर्दै थिए । अरुले सल्यात्तै पारे । मैले भान्से सरहरुलाई भने किन यस्तो पिरो हालेको ? खाँदैनन् जापानिजहरुले । उनीहरुले भने कि जापानिजहरुले सि… सि… गर्दा गर्दै हामीले काम खत्तम पारौंलानी किन चिन्ता गर्नुहुन्छ । खाना खान बसियो । मैले जापानिजको कल्चरबारे सुनेको थिएँ तपाईले अस्ति बनाएको खाना कति मिठो थियो भनेर, पछि सम्म भनिरहन्छन् रे । आजको खानाबारेको प्रतिक्रिया बुझ्न खोजें । खाना कस्तो लाग्यो ? मलाई उनीहरुले धेरै मिठो छ भन्छन् भन्ठानेको थिएँ तर उनीहरुले भने कस्तो पिरो हालेको ? मुखैमा लान नसक्ने । मैले साथीहरुलाई भन्दै गर्दा सि…सि गर्दै हाँस्दै लोकल कुखुरा बजाईसकेछन् । तपाईले थाहा पाई हाल्नु भयो यी मास्टरहरुले लोकल कुखुराको माया कति गर्दा रहेछन् ।

एक दिनको कुरा हो म मेरो जेठान पर्ने मानिससँग बाघखोरको लेकको बाटो ससुराल जाँदै थिए । मेरो ससुराली विदुर नगरपालिकामा पर्छ । बाघखोरबाट २ घण्टा ओरालो बेसीमा । बाटामा एकजना तराई बासी मास्टर बाघखोरको स्कुलमा पढाउन आउँदै थिए । जेठान पर्नेले नमस्कार ठोक्दै प्रस्ताव राखिहाले सर आज स्कुल सिस्कुल जान पर्दैन । दाजुभाइ भेट भएको बेला एउटा भाले मगाउनुहोस्, त्यसलाई भुटौं, चार घण्टा हानौं कलब्रेक  । सरले यो प्रस्तावलाई सहर्ष स्वीकार गरिहाले । स्कुल भन्दा केही पर सरको खाजा खाने अखडामा हामीलाई लगियो । एउटा रातो भाले मगाएर भुट्न एकजना तामाङ दाइलाई अडर दिए सरले । मेरो जेठान पर्ने सर र हरु दुईजना भिडे बास्सा फुकाली खेल्न । बे्रक हान्दै ओसिएको चिउरासँगै लोकल कुखुराको एक दुई पिस यसो निल्दै थियौं । मलाई भने चाँडो ससुराली पुगेर आराम गर्न मन लागेको थियो । जेठानलाई कहिले रहर पुग्ने होइन । आफूलाई भने मनमनै पट्यार लागिसकेको थियो ।

मास्टर साहेप चिउरा सँगै लोक कुखुरा चपाउँदै मात्र के थिए एक हुल बच्चाहरु सर खोज्न आइपुगिहाले गुरुरु.. । खुट्टाहरु पटपट फुटेका घाँटीभरीमएलै मएल जिग्रिङ्ग कपाल धुस्रफुस्र मुख । बच्चाहरुले सरलाई भने ‘ओइ सार हाम्रो हाजिर गर्न पर्दैन ? दिनभर तास हानेर बसिरहने हो ? मैले ति बच्चाहरुलाई हेरें र उनीहरुलाई पढिहालें कि हाम्रो देशको गाउँ र सहर दुर ठाउँमा रहेको स्कुलको अवस्था विद्यार्थीका अभिभावहरुको चेतना, शैक्षिक संघसंस्थामाथिको सरकारी निगरानी, शिक्षकको काम कर्तव्य र जिम्मेवारी आदि । सरले च्याठिदै जवाफ दिए ओई भुराहरु चल घरतिर भोली १० बजे दुई दिनको हाजिर एकैचोटी हुन्छ । मैले सरको अनुहार हेरे र फेरि विद्यार्थीहरुको अनुहार हेरेर अनुमान गरे कि भुराहरुले एकछिन् चकचक गरे होलान, एकछिन् धुलोमा कुस्ति खेलेहोलान्, अनि टेवल कुर्सी आदिमा, बेन्चको भाँचिएको खुट्टाले ठ्याक ठ्याक ठुकठुक पारे होलान् । एक छिन् साथी साथीको बाऊको गालि गर्ने नाउँ काडेर गाली गरे होलान् वा धुलोमाटोले एक अर्काको मुखमा छ्याप्ने खेल अन्त्य भएपछि घर जान जाँगर नलाग्नेहरु सरको खोजीमा आए होलान् जे होस गाउँका गरीज जनताले छ महिना ÷एक वर्ष छाडा लगाएर पालेका कुखराचाँही तर लगाउउँदा रहेछन् यी सरले भन्ने सोचेर जेठानलाई उठाउँदै भने ‘ अब अबेर हुन्छ चलौं ! पछि भेटौंला भनेर लागियो बाटो ।

यसरी विभिन्न समय, स्थान, समारोह, भेटघाट आदिमा कुखुरो काटी कार्यक्रमले गर्दा मेरो पनि जिब्रो भेट्टाएसम्म लोकल कुखुरो खोज्न थाल्यो । मैले मास्टरी जागिर छोडेर नयाँ नेपाल बनाउन भनेर जनयुद्ध नाम राखिएको संघर्षमा होमिएको बेलामा पनि विभिन्न ईलाकाहरुमा कुखुरो सहितको भोजबाट स्वागत पाईनाले मेरो जिब्रोले स्वाद बिर्सिएन । यदि कुनै ईलाकाले कुखुरो खुवाउन नसके यो त कस्तो बैष्णवहरु बस्ने ईलाका रहेछ ? भनेर प्रतिक्रिया पोख्थे साथीहरु । एक दिन मेरो भाइ पर्ने मास्टरले विद्यालयमा हुने खुकुरा खाई कार्यक्रमको लागि खसुक्क निम्ता ग¥यो । मलाई पनि सो कार्यक्रममा नछुटौं न त भन्ने लागेर लागें उकालो स्कुलतिर । तर म पुग्दा सरहरुले पिलेट पिलेटमा चिउरासँग मोलिसकेको दुखद सूचना पाएपछि किन मुख देखाउन जानु भनेर यसो परको पसलमा बसिरहेको थिए । त्यहीबाट स्कुुलको अफिसभित्रै हल्ला खल्ला र हाँसोको झल्को कानमा प¥यो । त्यत्तिकैमा एकजना विद्यालय व्यवस्थापन समितिका सदस्यलाई मनेरै पसलमा देखेर सोधें ए सदस्य ज्यू ! आज विद्यालयमा मिटिङ थियो कि क्याहो ? उनले मुख अमिलो पार्दै भने खोई के थाहा ? आफूलाई त निम्तो गर्नै छाडे । मैले कुरो बुझि हाले । उनलाई कुखुरो काटी समारोहमा समावेश गराइएनछ ।

एकछिन् पछि स्कुलका मास्टरहरु, एक जना अभिभावक, दुई जना विद्यालय समितिका सदस्य निस्किए भूडि ढाडिएर । मैले मन नलाई नलाई अभिवादन ठोके । एकजना पसलबासी युवाले तितो पोखिहाले विद्यालयमा दैनिक कुखुरा काटेर सरहरुमात्र मिलेर खाईन्छकी कसो ? भालेको स्वाद चाखेका एकजना अभिभावकले जवाफ दिए, तँ नकरा किन सरहरुले कुराहरु खाए कुरा बुझ, त्यसै बोल्नु हुँदैन । अर्का सदस्यले हो मा हो मिलाए । अघिल्लो साथीले थपे आज स्कुलमा नयाँ सरले नियुक्ति पाएको उपलक्ष्यको कुखुराकाटी भोज हने । हाम्रो उपस्थिती विनाको भोज मलाई खल्लो लागे पनि थप कुरा गर्न उचित ठानेनौं तर दुई दिनपछि मैले समाचार पाएँ कि ति समितिका सदस्यले विद्यालयबाट राजिनानै दिए रे ।

म चुकचुकाए । यदि हामी अस्ति सो भोजमा सहभागी हुन पाएको भए एकजना सदस्यलाई विद्यालयबाट राजिनामा गर्न बाट रोक्न सकिन्थ्यो कि । नभए त्यस्तै प्रकारको भोजको आयोजना गरेर राजिनामा थमौतीको प्रस्ताव गर्न पर्ला ।
हाम्रो देशको गाउघरमा अझैसम्म पनि व्यवसायिक पशुपंक्षी पालनको व्यवस्था मिलाउन सकेको छैन सरकारले । जनताको चेतना उही पुरानो परम्परागत पशुपालन र खेती प्रणालीमा केन्द्रित छ । गाउको गरिब तथा जनजाती र दलित जनताको आम्दानीको श्रोत लोकल कुखुरा पनि हुन् । जसलाई छोरीबेटीले दाजुभाइलाई तिहारमा कोसेलीको रुपमा लान, छोरीबेटीलाई पेवाको रुपमा दिन, धामीझाँक्रि मार्फत् भुतप्रेत मनाउन कुखुरो पालन गरिन्छ । त्यसको विक्रिको लागि प्रमुख खरिद कर्ता विद्यालयका शिक्षकहरु नै एक नम्बरमा पर्छन् । किनकी विद्यालयको पहुँच गाउदेखि सहर सम्म र लेकदेखि बेसी सम्म छ ।

शिक्षकहरुले नेपाल सरकारको तलव खुरुखुरु थाप्ने र सुरुसुरु कुखुराको स्वाद जिब्रोमा नझुन्ड्याउने हो भने सहर बजारका पहुँचबाट टाढा रहेका जनताले पालेको कुखुरा सहरका मानिस वा रिसोर्टहरुले मात्र खाएर भ्याउदैनथिए र सहरमा अहिलेको जस्ते तेब्बर मूल्य पर्दैन थियो कि ?

लेखक  शम्भु पनेरु पूर्व शिक्षक हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्