मोहनविक्रमको कारबाहीपछि प्रचन्डप्रति पार्टीमा जनमत बढ्दै गएको थियो । यो यूवक क्रान्तिकारी हो भन्ने लाग्दै थियो । त्यसैबेला प्रचन्ड र रवीन्द्र श्रेष्ठ भएर युवा संगठनको मुखपत्र प्रकाशित गरे । त्यसमा प्रचन्डको जोशिलो अन्तर्वार्ता थियो । त्यसले धेरैलाई प्रभावित ग¥यो । त्यसपछि खम्बसिँह कुँवर, इन्द्रविलास पौडेल, दीपेन्द्र शर्मा, तिलक खवास ‘जमीर’ र मैले प्रचन्डलाई केन्द्रीय समितिमा लाग्नुपर्छ भन्यौँ । त्यसपछि कमरेड बादल र देवप्रसाद गुरुङलाई अगाडि सारियो । खम्बसिंह कुँवरले जनजाति समुदायबाट नेता नजन्माईकन आन्दोलन उठान सकिन्न भन्थे ।हामी त्यसमा सहमत थियौँ । त्यसबेला प्रचन्डलाई क्षमता भएको युवाका दृष्टिले र रामबहादुर थापा ‘बादल’ एवम् देव गुरुङलाई जनजाति समुदायका प्रतिनिधिका दृष्टिले हेरीएको थियो । कमरेड बादल जनजाति समुदायबाट आएका भए पनि जातिवादी गन्ध आउँदैनथ्यो । प्रचन्डले भने समय–समयमा बादलमा ‘मगरवाद’ छ भन्दा रहेछन् ।
२०४५ सालमा किरणले नै प्रचन्डलाई महामन्त्रीमा आफैँले प्रस्ताव गरेका थिए । त्यसबेला भक्तबहादुर श्रेष्ठले किरणलाई “पार्टीमा छलफल नै नगरी किन प्रस्ताव गर्नुभयो ? महामन्त्री पद तपाईको खल्तीको पैसा हो ?” रिसाउँदै भनेका थिए । त्यसबेला पाचौँ महाधिवेशनमा भारतबाट पैतीस छत्तीस वर्षका भाइचारा पार्टीका कमरेड सनी सहभागी भएका थिए । हामीले भाइचाराका युवाहरु नेतृत्वमा पुग्न हुने नेपालमा किन नहुने ? भन्ने तर्क गरेका थियौँ । मोहनबिक्रमलाई ‘पण्डितिनी काण्ड’ लाई लिएर आक्रमण भइरहेका बेला ‘बैचारिक विचलन आएका कारण व्यवहारमा त्यसको अभिव्यक्ति प्रकट भएको’ प्रचन्डले भनेका थिए । हामी त्यो निष्कर्षबाट प्रभावित भएका थियौँ । प्रचन्डको क्रियाशीलता,अध्ययन, तर्कशीलताबाट धेरै युवाहरु प्रभावित थिए ।
सिज अभियानपछि कमरेड बादल हाम्रो नेता बनेर आओस् भन्ने भावना ममा पनि पलाएको थियो । त्यो अभियानपछि प्रचन्ड भने बादलको पार्टीमा पकड बढेकाले तर्सन थालेको गाइँगुइँ पनि थियो । फुन्टीवाङ बैठकमा प्रचन्डले ‘बादलीले बोलेपछि असारेजी तपाईलाई के चाहियो र ! बादल र तपाइँको प्रवृत्ति मिलिहाल्छ” भनेका थिए । बादललाई कारबाही गरेको बेला म मध्यप्रदेशको भूपालमा थिएँ । कमरेड बादलपछि प्रचन्डलाई फोन गरेँ । प्रचन्डले केही नभनी “असारेजी तपाई मुम्बई आउनुस् त” भनेपछि म तुरुन्त मुम्बई गएँ । त्यतिखेर प्रचन्डले कारबाही गरेकै छैन भनेका थिए । त्यसपछि बादलसँग सम्पर्क गर्दा “असारेजी म तपाईलाई ढाँट्छु त, कारबाही ग¥यो । उतै नेपालमा भेटौँला” भनेका थिए , त्यतिबेला हामी बैठकमा जुट्दै थियौँ ।
हालै प्रकाशित भएको इश्वरी प्रसाद दाहाल “असारे” काकाको ‘संघर्षका पाइलाबाट’ लिइएको केही अंश
वि.सं.२०७३ फागुन १७ मंगलवार ०५:५१ मा प्रकाशित