काठमाडौं । बृहद नागरिक आन्दोलनले न्याय क्षेत्रमा दिनप्रतिदिन आइरहेको संकटप्रति राजनीतिक दलहरु उदासीन देखिएको भन्दै गम्भीर क्षोभ प्रकट गरेका छन् ।
न्यायिक नेतृत्व दिन अक्षम प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवरालाई महाअभियोग लगाएर न्याय सेवा अविलम्ब चलायमान गराउन सहयोग गर्नुपर्ने राजनीतिक दलहरुले अर्कमण्य मौनता साधेको भन्दै नागरिक आन्दोलनले गम्भीर क्षोभ प्रकट गरेको हो ।
निर्वाध न्यायसेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुने असाधरण अवस्थाका सूत्राधार प्रधानन्यायाधिश जवरा सहकर्मी न्यायाधिशहरुको बहिष्कार र अधिवक्ताहरुको आन्दोलनबाट एक्लिए पनि उनले राजनीतिक नेताहरुको अनिर्णयको लाभ पाइरहेको र त्यसले न्यायपालिका आफै बन्दी हुन पुगेको बृहत नागरिक आन्दोलनको ठहर छ ।
‘लोकतन्त्र र संविधानको रक्षा गर्न’ उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गर्ने गठबन्धनका नेताहरुले लोकतन्त्र र संविधानमा प्रत्यक्ष अघात पार्ने गरी न्यायपालिकामा जारी संकटप्रति आफ्नो जिम्मेवारी र कर्तव्य महसुस नगर्नु गम्भीर राजनीतिक विचलन हो ।’ नागरिक आन्दोलनद्धारा जारी विज्ञप्तमा भनिएको छ ।

वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १२:०४ मा प्रकाशित






























