काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीको लाठी प्रहारबाट गम्भीर चोट लागेपछि श्रेष्ठलाई थापाथलीस्थित अन्नपूर्णं न्यूरो अस्पताल लगिएको हो ।
घाईते श्रेष्ठको टाउकोमा गम्भीर चोट देखिएको छ । प्रहरीको लाठी प्रहारबाट श्रेष्ठसँगै बारका केन्द्रीय सदस्य प्रकाश महर्जन पनि घाइते छन् । उनको पनि अस्पताल लगिएको बुझिएको छ ।
प्रहरीको लाठी प्रहारबाट कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायतका कानून व्यवसायी घाइते भएका छन् । घाइते घिमिरे सर्वोच्च बारका सचिव हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीमाथि बिहीबार प्रहरीले हस्तक्षेप गरेका थियो । कानून व्यवसायीहरु सर्वोच्चको मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको थियो ।
वि.सं.२०७८ मंसिर २ बिहीवार १२:२३ मा प्रकाशित






























