चतुर कागहरुको हूल बस्ने
काकाकुल बस्तीको छेउमा
न्यायमूर्तिबाट न्यायालय
घेराबन्दीमा परेको पल
तोते सुगाहरुले गाएको
कानुनी काइते गीतको
धूनमा
जनताको न्यायको आवाज
कस्ले बलि चढायो ?
न्यायको हक
कानुनको अमूक दफामा अल्झिएर
बन्द न्यायालयको
ढोका बाहिर
निसाफको प्रतीक्षा कुरेर
चिसोछिँडीमा एक्लै खडा छ ।
विचित्रका न्यायमूर्तिहरुले
न्यायालयको मूलद्धारमा
मञ्चन गरेको
नृत्यको दृश्य देखेर
सभ्यसंसार चकित छ ।
धूवाँको तुवाँलोमा छोपिएको
लोकतन्त्रको मनोरम चौतारीमा
कुनै सुन्दर दृश्य देखिदैन
काग र सुगाका
अस्पष्ट रुखा आवाजहरु मात्र
वातावरणलाई
प्रदूषित गरिरहेका छन् ।
जनताको न्याय
न्यायालयकै आँगनमा
अलपत्र छ
न्यायको संगीत बिथोलेर
मञ्चमा निर्बस्त्र
काइते गीत गाउँने पात्र को हो ?
वि.सं.२०७८ मंसिर ४ शनिवार ०७:२१ मा प्रकाशित






























