सिनित्त आँसू पिएर
बाँच्न हुन्न !
बाँच्नुको नियति
दर्दनाक हुन सक्छ ?
बिहानीको घाम
घामको उज्यालो
अँध्यारा बस्तीहरुमा खोजौं
भोका पेटहरूलाई सोधौं
कहिल्यै पेट भरेर
अघाएको छ की छैन ऊ ।
आस्थामा उधारो जिन्दगी बाँच्ने मान्छे ।
नकोरिएका होइनन्
कोरिएका हुन धेरै पटक
संविधानका नयाँ खेस्राहरू
तर मान्छे मान्छे भएर
बाँच्न नपाएको व्यथा
मात्र ! पोखिएको हो शङ्कामा ।
जून हराएको रात
चकमन्न अध्यारो
जून किरीको एक झूल्को प्रकाश
काफी छ होला ?
उज्यालो खोज्नेहरूको लाममा हामी छौं की छैनौं ?
एउटा आम मान्छे
हिंस्रक हुँदाको क्षण
सत्ताका क्र्रूरहरुलाई
संस्मरण रहोस् ..
बख्तरबंद गाडिका पहराहरू छिचोल्दै
कुनै शालीक
तोडेको दिन ।
एउटा भूगोल छिछोलेर
अर्को भूगोलसम्म पुग्ने
कोलम्बस ! न्यायका खुट्टाहरु
राष्ट्रिय जंजीर\साँगला नेलले बाँधिएका छन्
यात्रा माप्न असम्भव छ
अमानवियताको अनकन्टार जंगलभित्र
हराएका संविधानका नयाँ खेस्राहरू
सडक जामसँगै निस्किएको
टायरको धूवाँमा दनदनि जलिरहेका छन् ।
राष्ट्रियताको धरापमा परेर बाँच्न अभिशप्त मान्छे ।
भोक सिरानी राखेर
आँसु पिइरहेको
एउटा दूर्दान्त कथा
सबै\सबै तिर फैलिएको छ ।
आँसु पिएर आगो ओकल्न सक्छ मान्छे !
मान्छे हो मान्छे
भोग्दा भोग्दैको नियती
सहँदा सहँदैको पीडा
सडकमा पोखीनुपर्छ !
एउटा आम मान्छे
हिंस्रक हुँदाको क्षण
सत्ताका क्र्रूरहरुलाई
संस्मरण रहोस् ..
बख्तरबंद गाडिका पहराहरू छिचोल्दै
कुनै शालीक
तोडेको दिन ।
त्यसैले,
ओ ! सुप्रीमो !!
न खेल …
भोका पेटहरूसँग
खाली पेट इन्कलाब बोल्न सक्छन ?
वि.सं.२०७८ मंसिर ४ शनिवार ०७:२० मा प्रकाशित