काठमाडौं । नेपाल बार एसोसियशन र नागरिक समाजले संयुक्तरुपमा मार्चपास गर्ने भएका छन् ।
प्रधानन्यायाधिश चोलेन्द्र सम्शेर जवराको राजीनामाको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका कानुन व्यवसायी तथा नागरिक समाजले बिहीवार सर्वोच्च अदालतलेखि बालुवाटारसम्म मार्चपास गर्ने भएका हुन् ।
प्रधानन्यायाधिशको राजीनामाको माग गर्दै मंगलवार पनि धर्ना कार्यक्रम गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीवार (९ गते) दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने बताएका छन् ।
धर्नाका क्रममा कानुन व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मार्चपासमा नागरिक समाजका अगुवा समेत सहभागी हुने बताउँदै बालुवाटारकै कारण जवरा बैकल्पिक बाटो प्रयोग गर्दै सर्वोच्च छिरेको आरोप लगाउँदै बालुवाटारसम्म मार्चपास गर्ने बताएका हुन् ।
यसैगरी बुहद् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले पनि न्यायमाथिको अन्यायविरुद्ध पेशागत र नागरिक शक्तिहरु संयुक्त रुपमा आउन लागेको सामाजिक संजालमा लेखेका छन् ।
त्यस्तै मंगलवार कानुन व्यवसायीको कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले पनि भ्रष्टाचारको आरोप लाग्दा पनि प्रधानन्यायाधिशले पदमा बसिरहनु विडम्वना भएको बताउँदै प्रधानन्यायाधिशले आफुहरुको अपमान गरिरहेको आरोप समेत लगाएकी थिइन् ।
बारले भोली बुधबार देशैभरीका उच्च अदालतमा केन्द्रीय प्रतिनिधिको सहभागीतामा धर्ना कार्यक्रम गर्ने समेत जनाएको छ ।
वि.सं.२०७८ मंसिर ७ मंगलवार १४:२९ मा प्रकाशित






























