आज पनि पैँयु
त्यस ठाउँमा त्यसरी नै फुलेको छ
जसरी फुलेका हुन्थे उसबेला ।
बाल्यकालका ती रमाइला क्षणहरू
घुरयानमा चारो टिप्न आएको
भङ्गेरा उड़े जस्तै खै ! कता कता पो उड़ेछन् !
ईर्ष्या र द्वेषविहिन हाम्रा अनुहारहरूमा
समयले खोई कस्तो गम्भिर लिपिदियो
छातीमा खोई कस्तो संसारिकता हुलिदियो
– बुझ्न गाह्रो छ ।
ठाउँ त्यही छ, त्यही छ पाठशाला ।
पाठशाला भवन पक्की भएको छ
तर मनहरू साह्रै कच्चा भएका छन् ।
अनायासै सम्झनाले
त्यही डोरी तान्न लगाएको छ यतिखेर
जहाँ हार्दा पनि जिन्दगीलाई
हारेको आभास थिएन !
पैंयु फूलको यो बेला त्यही हो–
त्यसबेलाको सङ्गलो मन
आज छैन ।
धमलिएको छ यो –
आफ्नै प्रतिविम्ब पनि
नचिनिने मान्छे जस्तै
विरानो भइसकेको छ ।
एउटा अलौकिक सौन्दर्य जस्तै
त्यही रमाइलोपनको
स्मृति बाँच्दैछु म- यतिबेला ।
कहाँ कहाँ पुगे होलान्
मेरा दौतरीहरू
मैंले टोकेको
जुठो अम्बा खोसेर खाने
ती बाल सखाहरू !
वि.सं.२०७८ मंसिर २५ शनिवार ०८:३८ मा प्रकाशित





























