प्रकृति
जब
जवानीको उखरमाउलोले
छट्पटिन्छे
तब
उठ्न थाल्छन्
उष्ण वाफ
र ढाकिन्छ आकाश
सेतो पर्दाले
वाष्पकणहरूको सघनताले
पर्दामा पत्रै पत्रको
चित्रकारी रच्छन्
मानौ
वैँशालु प्रकृति
कसैको स्वागतका लागि
आकर्षक तयारीमा
तल्लीन छे
सृजनको थकाई मेट्न
कतै एकान्तमा
मस्त आराममा रहेको
पुरुषको हल्चलको
व्यग्र प्रतीक्षा छ
र त्यही आशय बुझेकी
सहेली बिजुली
र साथी समीर
उताउलिँदै आउँछन्
सघाउन
सरर सरर
वेगिँदै चिसिँदै
समीर बतासिन थाल्छ
मचाउँछ हुण्डरी
र
घुमाउन थाल्छ आकाशिएका
वाष्पकणका पत्र पत्रलाई
भिडाउँछ आपसमा
दलै दलको
टक्करझैँ
टकराउँछन्
आफू आफ्नैसँग
र
बनाउँछन्
अर्काे एउटा दल
बादल !
बादलका दलहरूको
सिँढी चडेर
चम्किन थाल्छे बिजुली
र
दलहरूलाई भिडाउने
अदृश्य शक्तिझैँ
मेघ रूपमा
गर्जन्छ बादल
बादलको हानाहान
मेघको गर्जन
र
बिजुलीको चमक दमकले
बिथोलिएका पुरुष
बिस्तारै आँखा खोलेर
चारैतिर
टिठ्याउँछन् !
जवानीको रापले
राँकिएर छट्पटाउँदै गरेकी
प्रकृतिमा दृष्टि पर्नासाथै
जुर्मुराउँछ पुरुषत्व
सामेल हुन्छ
बिजुली
र समीरको खेलसँगै
बिर्सेर प्रलयको पीडा
पन्छ्याउँदै लयका
लामा सूची
भरेर सृष्टिचेत
मेघको बाजा बजाउँदै
नर्तकी बिजुली नचाउँदै
बिस्तारै बिस्तारै
क्षितिजको सीमामा
सुटुक्क छिरेर
शान्त पार्छन्
सृजनाका जलधाराले
गर्भाधान गरेर
धन्य तुल्याउँछन्
प्रकृतिलाई
अनि
प्रादुर्भाव हुन्छ
सुसारका लागि
सृष्टिको सुमन
अनमोल जीवन !
सनातन नित्यताको
डोरीमा बाँधे पनि
साङ्ख्य
वा बौद्ध चिन्तनको
अनित्यताको तराजुमा
जोखे पनि
जीवनको महत्ता
अतुलनीय छ
परिभाषाको सङ्कीर्णतामा
अटाउँदैन जीवन
जीवन नामको
जाज्वल्यमान ज्वालालाई
सतत् नमन
सृजनका पिता
पर्जन्यलाई नमन
जीवनदायिनी
प्रकृतिलाई नमन
जय जीवन !
जय जीवन !!
जय जीवन !!!
गणेश लोहनी, चितवन, हाल पोल्याण्ड
वि.सं.२०७८ पुस १० शनिवार ०८:२१ मा प्रकाशित






























