यहाँ त्यसबेला
ताराहरू थिएनन् आकाशमा
पूर्णिमाको पक्ष थिएन र चन्द्रमा थिएन ।
बुटाहरू थिए
काँडाहरू भन्नुहोस् या उछ्रने झारहरू
तिनले सेपमा पारेका ठाउँहरू थिए
चिस्यानहरू थिए ।
हामी भ्रम–गीताहरू पाठ गरिरहेका थियौँ
हामी बासी भोजनहरू उग्राइरहेका थियौंँ
हाँसो लुटिएकाले रोदनको गीत गाइरहेका थियौं ।
साँच्चै ! त्यसबेला
आँखा थियो तर ज्योति थिएन
र कान सुन्न सक्षम थिएन।
चौरमा दूबो मौलाएको थिएन
बाटोमा यात्रा सल्बलाएको थिएन
थियो केवल घुइँचो एउटा चेक्रेटोमा
जहाँ पलायन खचाखच थियो
डाडुपन्यूँ आफ्नो हातमा हुनेहरूको
भान्साघरमा चकाचक थियो ।
उता मलीनता थियो पूरै आकाशमा
र उज्यालो ढाक्न हुस्सु धाइरहेको थियो ।
दुई–चार दिन हो र !
सयवर्षे आयुमा चारवर्ष थपेर
हाम्रो घर–आँगनलाई
यसरी निस्पट्ट अँध्यारोले छाइरहेको थियो
र फेरि
साठीवर्षे आयुको आधाआधी उमेरसम्म
पुरानै घाउ चहर्याइरहेको थियोे ।
बिगतका त्यी दुर्दिनहरूलाई
दुस्वप्नको कन्टेनरमा मिल्काएर
आज
हरियो चउरमा बुर्कुसीमार्न खोज्दैछु म सुधो खरायो
देख्दादेख्दै पनि
जंगलबाट निस्किरहेको बथान
नयाँ, पुराना छली फ्याउराहरूको !
कृष्ण बाउसे, काठमाडौं
वि.सं.२०७८ पुस १० शनिवार ०८:१९ मा प्रकाशित






























