रविकिरण उदाए प्रातमा तेज छर्दै
गगन झलमलाए रातको सेज हर्दै
चिर चिर धुन छर्दै गीत गाई चरीले
उठ अब कति सुत्छौ भन्न लागिन् परीले ।।१।
जलचर सब प्राणी हात जोडी बसेका
मनमन सब जप्छन् देव भन्दै झुकेका
प्रकृति जति हँसाई बल्दछौ दीप जस्तै
भुवनभरि छरी तेज राप तिम्रो छ उस्तै ।।२।
सगर जति रमाए हेरी तिम्रो मुहार
पवन पनि रमाई गर्छन् तिम्रो पुकार
सिरसिर गरि चल्ने वायुको रूप बन्दै
भवभरि छरि माया जीवले देह चुम्दै ।।३।
हिमशिखर रमाए प्रातको दिब्य रूप
नयनभरि सजाए दिव्य तिम्रो स्वरुप
कलकलगरि बग्ने बेगको भेल भित्र
मधुर धुन छर्दै गीत गाई बिचित्र ।।४।
नजर रस सबैमा दिव्य तिम्रो पियार
निसदिन सधैँ पुज्छन् सब्य तिम्रो मुहार
चरणतल नियाली अर्पेर अर्घ धारा
बगर शहर सारा फूल जस्तै पियारा ।।५।
छन्द : मालिनी
उत्तम कुमार पोखरेल,सूर्य विनायक, भक्तपुर
वि.सं.२०७८ पुस १० शनिवार ०८:१८ मा प्रकाशित






























