१.
यो जिन्दगी रहुन्जेल हो यसरी बुझ्नुहोला
चोर सिपाहीको खेल हो यसरी बुझ्नुहोला
आइपर्ने विघ्नबाधा चुनौतिहरुसँग सजिलै
गर्नु परेको तालमेल हो यसरी बुझ्नुहोला ।
२.
यस्तै हो भनेको दुःख पीर चिन्ता नलिनुहोस्
यति हो सम्झेपनि तक्दिर चिन्ता नलिनुहोस्
के का लागि आखिर जिन्दगीभर गर्नु फिक्रि
आज छ भोली छैन शरीर चिन्ता नलिनुहोस् ।
३.
यस्तै के के हरकत हो बुझ्न नसकेको
जिन्दगी एक जरूरत हो बुझ्न नसकेको
गज्जबको दुनिँया देखे भरसक जीवनमा
के वर्तमान के विगत हो बुझ्न नसकेको ।
४.
रगरगी छ नशाखोर बढेर गयो विचार गरेस् सरकार
बराबर डकैती चोर बढेर गयो विचार गरेस् सरकार
बलात्कार हिंसा अत्याचार दिनहुँ के के देख्नु परेको
जताततै छ फोहोर बढेर गयो विचार गरेस् सरकार ।
५.
नाफा नोक्सानी के का लागि भन्नोस् त
भएर अभिमानी के का लागि भन्नोस् त
होसगर साथी जीवनभर पछुताउनुपर्ला
गरेर यो फुटानी के का लागि भन्नोस् त ।
आनन्द छेत्री, सिंगताम, सिक्किम
वि.सं.२०७८ पुस १० शनिवार ०८:२२ मा प्रकाशित






























