भरिया
काच्पातको
सुल्फा तानी
तोक्माको खुट्टाले
गन्तव्य हिड्थ्यो त्यो बाटो
म
पारी हिमालको सिरेटो ओडी
पछाडी लुकाएर एक अञ्जुली बुकिफूल
तिमीलाई भेट्न आउथ्ये
तिमी
कोइली मुग्ध
पिपिरी सुसेल्दै
पर्खन्थ्यौ ठुलो वरको आडमा
यो तिम्रो मेरो बेला थियो
छोरो, अभियन्ता बनेपछि
सडक धाजा फाट्यो
ढल्यो निशानी वर
बसाई स¥यो जोडी ढुकुर
जहाँ अहिले
अल्झिन्न ऐसेलुहरुमा
कुनै एक टुक्रा तिम्रो पछ्यौरीको
अल्झिएको छ बरु
तल ढुङ्गामा
दुर्घटनाग्रस्त एम्बुलेन्सको अस्थिपञ्जर
त्यही बाटो जान्छ “युवकको“
हातभरी प्लास्टिकको गुलाफ
पहिरो बग्दछ,नदी ढलको
स्याउ प्रशोधित “रक्सी“
गाई दुगिन्छ बिषादी घाँस
खडेरी पिउँदै “फेवाहरु“
कारखाना फस्टाइरहन्छ कार्वनडाइअक्साइडको
सडक ! आन्दोलन बल्छ कार्वनमोनोअक्साइड
र संभोग गर्छ ओजन तह
स्खलित हुन्छ अल्ट्राभायोलेट, इन्फ्रारेड
पृथ्वीको गर्भमा
र ज्वरो बढ्छ पृथ्वीलाई बर्सेनि
जुन भयावह छ
धरतीको “फूलहरुलाई“
वन तस्करीको सिंहासनमा
रोपिन्छ आयातित दुबो र एक मठ तुलसी
उता सूनिन्छ “ग्रेटाको गर्जना“
र लगाईन्छ एक हुल नारा
“हाम्रो पर्यावरण: हाम्रो सम्पदा“
साँच्चै भनौं
तिम्रो पर्यावरण तिम्रो सम्पदा होईन
यो तिमी “स्वयम“ हौ ।
अजय बैरागी,रतनपुर,कटारी ७, उदयपुर
वि.सं.२०७८ पुस १० शनिवार ०८:२३ मा प्रकाशित






























