अरु वर्ष जस्तै,
यसपाली फेरी सुटुक्क
बामेसर्दै
मेरो कोठाभित्र
जवर्जस्ति पस्न खोज्दैछ
अर्को अन्तर्राष्ट्रीय नयाँ वर्ष
पश्चिम तिरको भित्तामा टाँगेको
हरियो पात्रोको पाना पल्टाउँदै,
पोहोर पनि नयाँ अनुहार लिएर
हाँस्दै आएको उस्ले
खै के भन्यो कुन्नि,
मेरो भाईले त स्वस्थानिको
प्रसाद नै खाएन !
त्यति मात्रै कहाँ हो र ?
दशैँमा
आमाको हातको टीको
पनि लाएन !
त्यसैले यसपाली मलाई
कता कता डर लाग्दैछ
यो अन्तर्राष्ट्रीय नयाँ वर्ष संग ।
यसपाली आमाले पनि
स्वस्थानिको ब्रत लिनु भएन भने !
म कहाँ गएर
स–साना सय रोटी खानु ?
फेरि दशैँमा पनि
टिका लाउदिन भन्नु भो भने !
म कस्का दैलामा गएर
टिका थाप्नु ?
त्यसैले ए नयाँ वर्ष
अव आँउदा सुटुक्क वा
जवर्जस्ति होइन,
नयाँ कोपिला झैँ मुस्कुराउँदै
आईज !
कसैको आँखामा आँशु होइन,
सवैका ओठमा मुस्कान छर्दै
आईज !
म तंलाई सगरमाथाको काखमा
राखेका मेरा सारा
मन्दिर र गुम्बाहरु घुमाउछु !
स्वर्गका अप्सराहरुले
सधै श्रृंगार गर्ने गुराँसका
सबै रँगहरु चिनाउछु !
तर किन हो किन
तं सँग मलाई
अझै पनि डर लाग्छ,
मेरो गुराँसको रँग पनि
सुटुक्क चोरेर
जवर्जस्ति
मेरो भाई जस्तै
फुस्रो बनाइदिइस भने !!!
किशोर कोइराला,इनरुवा, सुनसरी
वि.सं.२०७८ पुस १७ शनिवार ०८:४८ मा प्रकाशित






























