मेरो मनमा सजिएको तिम्रो क्यानभास
त्यो अलौकिक उपहार, कति सुन्दर थियो
त्यो अदभूत आकर्षण, कति शालीन थियो
अनी,
त्यो अपराजित सीमारेखा, कति विशाल थियो
तिम्रो शिर ढाक्ने चाँदी र पुर्खाको अविस्मरणीय इतिहास
झरना बनेर घन्किने तिम्रो संगीत
र कोइली बनेर गुन्जने तिम्रो आवाज
गुराँसले सजिएको तिम्रो निधार
उषाकालीन किरणले चम्किने तिम्रो मुहार
शहीदको रगतले ओतप्रोत बुट्टेदार त्यो सारी
र त्यसमा लुकेको अमर इतिहास
अतीतको स्पन्दन र तिमीले देखाएको साहस
अनी !
तिमीले नै जन्माएको बुद्ध
प्रिय्, तिमी साँच्चै नै सबला थियौ
प्रख्यात थियौ र परिचित थियौ
तर प्रिय्
अफसोच !
कति छिट्टै मबाट धेरै दुर पुगिछ्यौं
रोम सभ्यताले आधुनिक युग भेटेको बेला
इजिप्ट सभ्यताले बैज्ञानिक युग पाएको बेला
तिमीले उघारेको वेद, ढुङ्गे युगको ओडारमै छुटेछ
तिमीले उठाएको गीता, गौमाताको गर्धनमै फुटेछ
तिमीले जन्माएको बुद्धत्व, भग्नावशेषमै पुरिएछ
तिमीले जगाएको उपनिषद्, कुम्भकर्ण बनेर घुरिरहेछ
र तिम्रा ती,
वीर सपूतहरु त
आज म्युजियममा मात्र देखिने भएछन
तिमी खोजेर नभेटिने भैसकिछ्यौं
त्यो सुन्दर अलकापुरीमा, यमराजको राज भएछ
हिजोसम्म मेरी
नितान्त मेरी थियौँ तिमी
तर आज अर्कैले हरेर लगेछ
बल्ल थाहा भयो प्रिय्, मेरो देश हराएछ ।।
समयले तिमीलाई नङ्याउँदै गएछ
पृथ्वी उष्णीकरणले बैँसालु तिमिलाई जितेछ
शिरमा टल्किने चाँदी खिइंदै गएछ
ओठको लाली र निधारको टीका रंगहीन भएछ
मलाई थाहा छ प्रिय्
साम्यवाद र पुँजीवादको सिङ्गो भुमरीमा तिमी नै परेकी छ्यौ
जुम्ला कर्णालीको भोकमरीमा पलपल तिमी नै मरेकी छ्यौ
दक्षिणको हुरीले पनि तिमिलाई नै उडाउदै छ
बिज्ञानको अभिशापले पनि तिमिलाई नै मुडिदिदैँ छ
तिम्रा शरीरका अंगहरु नचल्ने भएका छन्
तिम्रा छोराहरु
कोही खाडीमा रगत पसिनाले
नयाँ नेपालको रेखाचित्र कोर्दै छन्
कोही स्नातक, स्नातकोत्तरका प्रमाणपत्रले
युरोप, अमेरिकाका गुलाम भएका छन्
ती बुढी आमा हिजोसम्म कत्ती खुसी थिइन्
तर आज उही पुरानो पटुकी, फाटेको चोलो
र मैलिएको घुम्टोमा आँसुले भिज्दैछिन्
ती नवविवाहित बुहारी
परदेशिएका श्रीमानलाई सपनामा खोज्दैछिन्
ती तन्कदातन्कदैँ खुम्चनै बिर्सेको सुरुवाल लगाउने
केटाकेटी जमातले पनि कुरिरहेको छ
प्रिय्, हिजोसम्म तिमी निपुण थियौ
तर आज तिमी रित्याइएकी छ्यौ
तिम्रा खोरियाले पाती ओडेका छन्
फाँट्ले खडेरी चिर्दै ..
तिम्रा रक्षकहरुले बालुवामा धन खोज्न थालेछन्
तिम्रा संरक्षकहरुले तिमीलाई वेश्यालयमा फालेछन्
तिम्रै छोरा बुद्धको मुखौटा लगाएर
एउटा् हातमा त्रिपिटक र अर्को हातमा तरबार बोकेर
युद्ध गरिरहेछन,
दक्षिणको सीमातीर बस्ने तिम्रा सन्तानहरु
बिहान् उठ्दा भारतीय बनिरहेछन्
अ साँच्ची !
मुखिया र कमैया अझै तिम्रो काखमा रहेछन्
गरीब सधैँ भोकाएको छ
कराएको छ
असमानताले आकार बढाएको छ
तिमिलाई
फगत ! तिमिलाई खोज्दैछु प्रिय्
मेरो देश हराएको छ ।।।
समयले तिमीलाई नङ्याउँदै गएछ
पृथ्वी उष्णीकरणले बैँसालु तिमिलाई जितेछ
शिरमा टल्किने चाँदी खिइंदै गएछ
ओठको लाली र निधारको टीका रंगहीन भएछ
मलाई थाहा छ प्रिय्
साम्यवाद र पुँजीवादको सिङ्गो भुमरीमा तिमी नै परेकी छ्यौ
जुम्ला कर्णालीको भोकमरीमा पलपल तिमी नै मरेकी छ्यौ
दक्षिणको हुरीले पनि तिमिलाई नै उडाउदै छ
बिज्ञानको अभिशापले पनि तिमिलाई नै मुडिदिदैँ छ
तिम्रा शरीरका अंगहरु नचल्ने भएका छन्
तिम्रा छोराहरु
कोही खाडीमा रगत पसिनाले
नयाँ नेपालको रेखाचित्र कोर्दै छन्
कोही स्नातक, स्नातकोत्तरका प्रमाणपत्रले
युरोप, अमेरिकाका गुलाम भएका छन्
र ती !
बिदेशी दलालहरुले तिम्रो कोखमा छुरा हानिरहेछन्
रातो आहालमा, शासनको पनडुब्बी चलाइरहेछन्
हिजो कत्ति राम्रो थियो तिम्रो रुप
तर आज कुरुप भएको छ
हिजो कत्ति सङ्लो थियो तिम्रो अस्तित्व
तर आज धमिलिदैँ गएको छ
अहो !
विश्व मानचित्रबाट तिम्रो सुन्दर नक्सा
मेटिने डरले पिरोल्दछ …
तिमिलाई खोज्दैछु प्रिय्
केवल तिमीलाई…
मेरो देश हराएको छ ।
आर्यश शर्मा घिमिरे, ललितपुर
वि.सं.२०७८ पुस २४ शनिवार ०८:३४ मा प्रकाशित






























