११ माघ, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सव समारोह अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन आफैमा चुनौतीपूर्ण भएतापनि राष्ट्रिय वाणिज्य बैंकले चुनौतीको सामना गरी व्यवसायीक रुपमा अगाडी बढिरहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा थप योगदान गर्नुुपर्ने बताए । उनले बैंकले आगामी दिनमा प्रविधिको मार्फत दिइने बैंकिङ्ग सेवाले ग्राहकको आकांक्षा बमोजिम ग्राहकमैत्री सेवाको लागि थप कार्य गर्नुपर्ने बताए ।
प्रमुख अतिथि एवं अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रममा USSD मोवाइल बैंकिङ्गको डिस्प्ले गरी सेवा शुभारम्भ गर्दै यसले इन्टरनेट नभएको स्थानमा पनि वित्तीय पहुँचको विस्तार हुने बताए । बैंकको ५७ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७८ भर्चुअल माध्यमबाट विमोचन गरेका थिए ।
बैंकले अब सिमित कारोबारको लागि शाखामा जान नपर्ने गरी बैंकको मोवाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले दुई लाख रुपैंयासम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरुको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवाको शुभारम्भ गरेको छ ।
कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफुसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भईरहनुपर्ने बताए । उनले अहिलेको अवस्थामा जोगीएर प्रणालीलाई जोगाउनुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाले तल्लोवर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न आग्रह गरे ।
वि.सं.२०७८ माघ ११ मंगलवार ११:४३ मा प्रकाशित





























