काठमाडौं । पछिल्लो समय राजधानीमा विशेषत बैदेशिक रोजगारीमा जाने युवाहरुको नक्कली पिसीआर रिर्पोट बनाएर चर्को पैसा असुल्ने गिरोह सक्रिय भएको छ ।
राजधानीका नाम चलेका अस्पतालका नाममा कोरोना परीक्षणको रिर्पोट नक्कली दिएर युवासँग चर्को असुलीमात्र गरेका छैनन् उनीहरुलाई जोखिममा समेत पारेका छन् । उनीहरुले बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली पीसीआर रिपोर्ट बनाईदिने गरेको प्रहीले पत्ता लगाएको छ ।

सोहि कार्यमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेको छ भने सोहि समुहका फरार दुईजनालाई खोजी गरिरहेको छ ।
पक्राउ पर्नेमा धनुषा घर भइ.ललितपुर ग्वार्को बस्ने रोशन कुमार छिट्टान, धनुषा छिरेश्वर नगरपालिका १ घर भइ गौशाला बस्ने नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर सुर्यबिनायकको सल्लाघारीमा बस्ने माधव मैनाली र सर्लाही बलरा ७ घर भई हाल भक्तपुर कौशलटार बस्ने नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा रहेका छन् ।
त्यस्त नक्कली रिर्पोट बनाइदिने रौतहट राजदेवी घर भई हाल भक्तपुर दुवाकोट बस्ने नागरिक कम्युनिटी अस्पतालको पीसीआर ल्याब सञ्चालक भावेश मिश्र र काठमाण्डौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने कान्तिपुर अस्पताल तिनकुनेका पीसीआर ल्याब सञ्चालक निर्मल गिरी फरार रहेको प्रहरीले जनाएको छ ।
फरार रहेका दुबै ल्याबका सञ्चालक मिश्र र गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ । साथै दुबै अस्पतालका पीसीआर ल्याबहरु सिल गरि पीसीआर सम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको र अन्य थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले ती अस्पतालका पिसिआर रिपोर्ट जेनेरेट गर्न प्रयोग भएको कम्प्युटर मोनीटर १ ओटा, ल्यापटप १ ओटा, सीपीयू ३ ओटा र पिसिआर दर्ता रजिष्टरहरु, नक्कली पिसिआर रिपोर्टहरु, रसिद प्याडहरुलगायत मोबाईल ५ वटा बरामद गरेको छ ।
वि.सं.२०७८ माघ १९ बुधवार १५:५९ मा प्रकाशित






























