शिवको भव हो मनले गुन रे ।
हित के नरको क्रमले चुन रे ।।
शिवले वरको कर माथ दिए ।
अनि पो मन रम्दछ हर्ष पिए ।।०१।।
मन ज्ञान लिँदै श्रम पुज्न सकूँ ।
कृत हार खिली गिरि चढ्न सकूँ ।।
शिव दूर गए मन भ्रष्ट हुँदा ।
शिवसाथ रहे मन प्रस्ट हुँदा ।।०२।।
शिवको गर मानव याद सदा ।
भवका सुखको लिन पूर्ण मजा ।।
प्रभुका पथ हुन् अनमोल दया ।
चुन मानव रे सुख मिल्छ सदा ।।०३।।
शिव हे! भव यो अब पार गर ।
सुखका पथको प्रिय ज्ञान भर ।।
करमा छ पिनाक सुशोभित त्यो ।
शशि छन् शिरमा जल नाग अहो ! ०४।।
पथ त्याग गरी नर भाग्छ प्रभु ।
गर नाश सबै छल जाल प्रभु ।।
भव मानवको सुख सागर हो ।
कृत सार दिई गर पार प्रभु ।।०५।।
भवमा प्रभुको छ निगाह अरे ।
नरका मनमा प्रभु बास गरे ।।
नर यी नर हुन् कृतमा कर हुन् ।
प्रभुका पदमा खुद ध्यान धरून् ।।०६।।
अनि ता मन मानव बन्छ अरे ।
नरझैँ गुणमा खुद रम्छ अरे ।।
कस छन् मनका सब दूर गर ।
शुभ भाव मिठा मनभित्र भर ।।०७।।
छन्द: तोटक
दीनानाथ पोख्रेल,इलाम नपा –२, इलाम
वि.सं.२०७८ माघ २२ शनिवार ०४:५६ मा प्रकाशित






























