किन दुख्नु देश सधैँंभरी
किन झुक्नु माथ उसैगरी ।
अघि बढ्नुपर्दछ मार्गमा
किन रुक्नु पाउ दुखेसरि ।।१।
किन देश लुट्न उठे सबै
पदका निमित्त फुटे सबै ।
न त देश खातिरमा मिले
किन खान निमित्त जुटे सबै ।।२।
किन अन्धकार बढ्यो अति
किन भो विनाश र दुर्गति ।
अब गर्नुहुन्न विलम्ब झन्
किन सुध्रिएन अझै मति ।।३।
किन यो विलाप सधैँभरी
किन आँसु बग्दछ धर्धरी ।
न विकाश भो न निकास नै
कसरी बढूँ भनिदे चरी ।।४।
हर झूटले छलछामले
किन बन्नु रावण रामले ।
छ किताबमा यही कुरा
गर कर्म भन्छ लगामले ।।५।
किन प्रश्नले तन पोल्दछ ?
र सवाल निम्ति पिरोल्दछ ।
हर देहमा भगवान् बसून्
सुन दिव्य जो मन बोल्दछ ।।६।
छन्द: संयुक्ता
उत्तम विचार, टोखा, काठमाडौं
वि.सं.२०७८ माघ २२ शनिवार ०४:५७ मा प्रकाशित






























