सिमसिम पानी
बाक्लो हुस्सु
बिस्तारै
बिरामीजस्तै
पाइला सार्दै गरेक
कुहिरो
लमतन्न क्षितिजसम्म
आयतन लिएर
बाक्लो जङ्गलका बिच
चहुरभरि
–गाईभैँसी छन्
–भैँसीगाई छन्
–पाडाबाछा छन्
–बाछीपाडीहरू छन्
चिटिक्क
देख्दै रहरलाग्दा
शिल्पसज्जित
–गोठछाप्रा छन्
–छाप्रागोठहरू छन्
ससाना खाँबा टेकाएका
–टाट्नाहरू छन्
जो पाडाबाछाका
बाछीपाडीका ओच्छ्यान् हुन्
झम्झम पानी झरेको छ
पर पहाडका टुप्पामा
छाँगासँगै सुतेको छ
–इन्द्रेणी
स्कुलको घण्टी बज्नासाथ
डार्विनको यात्रा
लियोनार्दोको यात्रा
किन जङ्गल पुग्थ्यो त्यत्तिकै
जङ्गल त गोठ हो
–प्रकृतिपुत्र गोठालाको
–प्रकृतिपुत्री गोठाल्नीहरूको
–गाईभैँसीको
–भैँसीगाईको
–बाछापाडाको
–पाडीबाछीहरूको
सहज सौन्दर्यको
निस्कलङ्कित ऊर्जाको !!
जाडो छ
हिमालमुनि
हिउँले भर्छ दुँदेरा
आगो बलेको छ
अँगेनाभरि
मुढा
झुरा
दाउरा
प्रकृति वितरण गर्छिन् सित्तैमा
कुँडेभरि
दूध उम्लेको छ भक्भक
केवा उघाएर
शान्त पार्छ
प्राकृतिक योगदान हुन् जम्मै
घाम लागेको छ
टण्टलापुर मौसममा
शीत चुहुन्छ पातबाट
सङ्गीत उभाउँदै
तप्प! तप्प !!
पसिना निस्कन्न
वरदान छ प्रकृति
विल्भर
ओर्भिलले
ओहायो कहाँ रोजेका हुन्
त्यत्तिकै ?
स्कुलको घण्टी बज्नासाथ
डार्विनको यात्रा
लियोनार्दोको यात्रा
किन जङ्गल पुग्थ्यो त्यत्तिकै
जङ्गल त गोठ हो
–प्रकृतिपुत्र गोठालाको
–प्रकृतिपुत्री गोठाल्नीहरूको
–गाईभैँसीको
–भैँसीगाईको
–बाछापाडाको
–पाडीबाछीहरूको
सहज सौन्दर्यको
निस्कलङ्कित ऊर्जाको !!
वि.सं.२०७८ माघ २२ शनिवार ०४:५९ मा प्रकाशित






























