१
दाजु धेरै भयो ओछ्यानमा आमा, थलिनु भएको पनि
अब हेर्न सक्दिन बुबाको अनुहार, मलिनु भएको पनि
केही उपाय छैन अब, गरिबीको कारणले चेप्टियौं जब
पैसा दिएन साहुले भाउजू काममा, दलिनु भएको पनि ।
२
महोदय म अजिबको छु, अरुको खुसि हेरेर हाँस्छु
मान्छे उठाउन ताकत छैन,त्यसैले त पोस्टर टाँस्छु
अन्याय गरेमा ढुङ्गाले हान,कानुन छ हतकडी बान
मरेर मैले के लानु छ,जिउँदो हुँदा नै पिरती गाँस्छु ।
३
जूनमा घर बनाउन मन छ,सबैले हेरोस सगर तिर
समुद्रको मोती हुन पाऊँ, खोजुन् मलाई बगर तिर
हिजो पनि तिम्रै थिएँ म, र आज भोलि तिम्रै हुनेछु
याद आएमा खोज्दै आउनु, उही पुरानो नगर तिर ।
४
कुनै आपत्ती छैन प्रिय, तिमीले मलाई छोड्यौ भनेर
गन्तव्यमा पुग्न लाग्दा,अनायासै कदम मोड्यौ भनेर
माया मेरो कम्जोर भयो,बगेको आँसुहरू खेरा गयो
लोक सामु बिरह के गाउनु,अन्तै नाता जोड्यौ भनेर
५
सबै आउनुहोस् लागि परौं,हाम्रो देश बचाउनुलाई
पराई मुलुकले फुक्दैछ बिगुल,खाएर पचाउनुलाई
ठण्डा दिमागले बुझ सरकार,नबन न यति लाचार
रुप रंग फेरि तयारीमा जुट्छ,नेपाली नचाउनुलाई ।
पबित्रा चाम्लिङ,खोटाङ
वि.सं.२०७८ माघ २२ शनिवार ०५:०७ मा प्रकाशित






























