न तात्छ घाम ताप भै
न बल्छ अग्नि राप भै ।
बिहान साँझ पीर छ
चसक्क तीर झीर छ ।१।
न माघ माह शान्त छ
कठोर साथ क्राल्त छ ।
छरेर शीत बस्दछ
भएर मीत पस्दछ ।२।
हिमाल बन्छ लेकमा
प्रहार गर्छ एकमा ।
न दोस्त बन्छ यो कतै
र जीत गर्छ यो जतै ।३।
उराठ लाग्छ जिन्दगी
चिसो छ काल यो बढी ।
भयो छिटो तँ जा तँ जा
यता न आ यता न आ ।४।
लगिस् निकै हरेर ती
जवान वृद्ध मानिस ।
तँ काल हैन जान्दछु
समान काल ठान्दछु ।५।
छन्द – प्रमाणिक
मचिन्द्र खत्री, धरान, सुनसरी
वि.सं.२०७८ माघ २९ शनिवार ०८:३२ मा प्रकाशित






























