नेपाली दिलभित्रका सरलता शालिन्य सञ्चारका ।
नौलो व्योम विशाल विश्वभरमै छन् शुद्ध आचारका ।।
नाना संस्कृति चाडपर्व सब छन् सानिध्य पार्ने मन ।
सारा कल्मषभाव द्वेष दिलका धोएर हाँस्छन् मन ।।०१।।
नेपाली कृत उच्च मानव कला बोलेर को सक्छ र ?
पुर्खाकै गुणधर्म बोल्दछ धरा गर्दै स्वयम् आदर ।।
नेपाली धरती रमेर सुखको सायुज्य बाँड्दो सधैँ ।
जाडो, घाम, झरी, तुसार क्षितिले पस्कन्छ राम्रा सबै ।।०२।।
डुल्छन् घाम सियाल नित्य यिनकै पाएर सम्मोहन ।
छ्न् बारी, वन, खेत नित्य हरिया धार्छन् स्वयम् जीवन ।।
संसारी खलुता उपस्थित हुँदा पोली डढाईकन ।
पार्छन् शुद्ध विकारमुक्त जनले सम्भ्रान्त छन् चिन्तन ।।०३।।
बाँड्छन् ताल, नदी मिलेर झरना सौन्दर्य के छैन र ?
फ्याँकून् यी मनले विकार दिलका धार्दै स्वयम् जाँगर ।।
आशामात्र जमे विशाल वनझैँ बिग्रन्छ बाटो बुझी ।
छान्दै एक अनेक योग्य मनले खोज्छन् उज्यालो जुटी ।।०४।।
मेरा रम्झमपूर्ण संस्कृति बडा छन् विश्वमै उन्नत ।
आफ्नै संस्कृति चिन्नुपर्छ सबले हुन् यी सुधीका मत ।।
छन् सङ्क्रान्ति ,दशैँ, तिहार, छट यी माघी अनेकौँ अरू ।
त्यो ल्होसार भयो कला विविधता छन् प्रेममालाहरू ।।०५।।
को भुल्ला जननी चटक्क मनले बिर्सेर टाढा हुँदै ।
पुग्दा दूर सधैँ बिझाइ मन यो बाँच्नेछ आफू रुँदै ।।
पुर्खाले सब धर्म कर्म सब यी नासो दिए जान रे ।
त्यागेमा निज शान मान सब यी पाइन्न यै मान रे ।।०६।।
छन्द-शादूर्लविक्रीडित
गण-म स ज स त त गु
सङ्केत: sss iis isi iis ssi ssi s
विश्राम- बाह्रौँ अक्षर र पादान्तमा
दीनानाथ पोख्रेल, इलाम
वि.सं.२०७८ माघ २९ शनिवार ०८:३३ मा प्रकाशित






























