काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो ।समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुटदिने सम्बन्धमा बुद्ध र यति एअरलाइन्स प्रालिबीच सहमति गराएको हो ।
यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल सङ्घ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ ।
विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताए ।
समितिले कोभिड १९ को प्रभावका कारण थला परेका उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रर्वद्धन गर्न र यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्ने उद्देश्यले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।
वि.सं.२०७८ फागुन ११ बुधवार २१:२४ मा प्रकाशित






























