लन्डन । रुस र युक्रेन द्धन्द्धमा परेका ५८४ नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार हालसम्म ५८४ नेपालीहरु पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगिसकेका छन् ।
पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४६६, स्लोभाकियामा ७८, रोमानियामा २८, हंगेरीमा ८, र माल्दावा ४ गरी ५८४ जना नेपालीहरु सुरक्षिात स्थानमा पुगिसकेका छन् ।
उद्धार कार्य सम्पन्न
रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई बुधवार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालहरु सुरक्षित स्थानमा पुगेकाले उद्धार कार्य सम्पन्न भएको जानकारी दिएका छन् ।
खड्काले अन्य देशको तुलनामा नेपालीहरुको उद्धार कार्य निकै छिटोछरितो भएका कारणले युद्धमा नेपालीहरुको ज्यान सुरक्षित रहेको बताए । राजदूत खड्काले उद्धारको कार्य सम्पन्न भएपछि उनीहरुको पुर्नस्थापना गर्ने कार्य चुनौती पूर्ण रहेको बताए ।

राजदूत खड्काले तीन नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको बताउँदै उनीहरु नयाँदिल्ली हुँदै नेपाल जाने तयारीमा रहेको जानकारी दिए ।
युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।
करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थाईबसोबास गर्दे आएकोले पारिवारी, कानुनी रव्यवहारिक कारणले युक्रेनमा रहेका छन् ।

एनआरएनएको सक्रियताकै कारण समयमै उद्धार कार्य सफल
बैठकलाई सम्बोधन गर्दै उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले युके्रनको युद्धमा परेका नेपालीको उद्धारको लागि नेपाली समुदायले ठूलो सहयोग गरेका कारणले नेपालीहरुको समयमै उद्धार गरेर ज्यान बचाउन सफल भएको बताएका छन् । उनले नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघका एजेन्सीहरुसंग काम गर्न इच्छुक रहेको बताउदै गैरआवासीय नेपाली संघको संन्जाल संसारकै उत्कृष्ट लिस्टमा अन्तराष्ट्रिय समुदायले राखेको बताए । उनले एनआरएनए संजाल सकृय भएकै कारणले गर्दा यति छिटो उद्धार सम्भव भएको समेत बताए ।
पुर्नस्थापनको लागि आर्थिक संकलन
त्यसैगरी संघका सहकोषाध्यक्ष लोकप्रसाद दाहालले युद्ध पीडित नेपालीहरुको पुर्नस्थापनको लागि आर्थिक संकलन गर्न आग्रह गरेका छन् । उनले युद्धमा परेका नेपालीहरुको दुःखमा साथ दिन सबैलाई हातेमालो गरेर अघि बढ्न अनुरोध गरेका थिए ।
बैठकले दाहालको संयोजकमा युद्ध पीडितको लागि आर्थिक सहयोग संकलन समिति गठन गरेको समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
के भन्छन् त उद्धार कार्यमा सक्रिय एनसीसीका अध्यक्षहरु ?
एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसीले नेपालीहरुको सहयोगमा युद्ध पीडितहरुको उद्धार र व्यवस्थापन सफल भएको बताए । उनले युक्रेनबाट धेरै नेपालीहरु पोल्याण्डमा आएकाले उनीहरुको व्यवस्थापनको लागि ठूलो चुनौती रहेको समेत बताए । उनले २०३ जना नेपालीहरुलाई संघको पहलमा बसोबासको व्यवस्था गरेको जानकारी समेत दिए ।
त्यसैगरी एनआरएनए हंगेरीमा संस्थापक अध्यक्ष सुरेन्द्र श्रेष्ठले ४ जना नेपाल फर्किएको र ती मध्ये २ जना भारतीय सरकारको सहयोगमा हवाई जहाजमार्फत नेपाल गएको जानकारी दिए । उनले युक्रेनमा चिकित्सा शिक्षा अध्ययनको लागि आएका विधार्थीहरुलाई हंगेरी सरकारले आफ्नो कोर्ष पूरा गर्न अवसर प्रदान गर्न लागेको समेत जानकारी दिए ।

एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीले अचानक रुपमा आएको युद्धमा परेका नेपालीहरुलाई उद्धारमा दुतावास र नेपाली समुदाय मिलेर गरेको उद्धार एक उत्कृष्ट कार्य भएको बताए । उनले उद्धारमा जुट्ने सबै पक्षलाई धन्यवाद दिए । उनले रुस र युक्रेनको युद्ध अनिश्चित रहेकाले नेपालीहरु अझै सजक रहनु पर्ने समेत बताए ।
विस्थापितलाई रोजगारी लगायतका अवसरमा जोड
बैठकमा स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुवेदीले युक्रेन तर्फबाट अन्य देशमा आउने नेपाली संख्या कम हुदै गएको जनाकारी दिए । युद्धबाट विस्थापित नेपालीहरुलाई नेपालीद्धारा संचालित व्यवसायमा रोजगारीको अवसर दिनु पर्नेमा जोड दिए । उनले युद्ध पीडित नेपालीहरुलाई तत्काल आर्थिक र कानुनी सेवाको आश्यकता रहेको समेत बताए ।
रोमानियाका लागि नेपाली काउन्सिलर नवराज पोखरेलले नवराज पोखरेलको संचालन रहेको उक्त बैठकमा संघका महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिबी क्षेत्री लगायत १३ देशका एनआरएनए अध्यक्षहरुको उपस्थिती थियो ।
बैठकमा चिरन्जीबी खड्का (चेक रिपब्लिका), सन्तोष भट्टराई (जर्मनी), सुनिल रानाभाट (स्पेन), एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रे, एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापा, एनआरएनए डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारी, एनआरएनए अष्ट्रियाकी अध्यक्ष भवानी तिवारी, चित्र सुवेदी (बेल्जियम), हेमराज सुवेदी (स्पेन), एनआरएनए स्वीजरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामा लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
वि.सं.२०७८ फागुन २६ बिहीवार १३:५३ मा प्रकाशित





























