काठमाडौं । पञ्जाबमा आम आदमी पार्टीको सुनामीमा धेरै ठूला मानिएका नेताहरु बढारिएका छन् । जसमा मुख्यमन्त्री चरणजीत सिंह चन्नीदेखि ठूला हस्ती समेटिएका छन् ।
आपको झाडुले उपमुख्यमन्त्री ओपी सोनी, पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धू, शिरोमणि अकाली दलका प्रमुख सुखबीर सिंह बादल, पूर्व मुख्यमन्त्री प्रकाश सिंह बादल कोही पनि बाँकी रहेनन् ।
यी हुन् आपको झाडुले बढारिएका दिग्गज नेता
चरणजीत सिंह चन्नी
पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चन्नी यस पटक दुई सिटबाट चुनावी मैदानमा थिए। उनी भदौर र चमकौर साहिब दुवै सिटबाट पराजित भएका छन् । चन्नी चमकौर साहिबबाट आम आदमी पार्टीका चरणजितसँग पराजित भएका छन् । त्यसैगरी भदौरबाट लाभ सिंहले चन्नीलाई पराजित गरेका छन् । भदौरबाट चन्नीलाई हराउने लब सिंह मोबाइल मर्मत पसलमा काम गर्छन्।
नवजोत सिंह सिद्धु
पञ्जाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धु पनि अमृतसर पूर्वबाट पराजित भएका छन्। सिद्धु आम आदमी पार्टीकी जीवन ज्योत कौरसँग पराजित भएका थिए ।
ओपी सोनी
पंजाबका उपमुख्यमन्त्री ओपी सोनी अमृतसर सेन्ट्रलबाट चुनावी मैदानमा थिए। उनी आम आदमी पार्टीका अजय गुप्तासँग पराजित भएका छन् ।
अमरिंदर सिंह
पटियालाका पूर्व मुख्यमन्त्री र पञ्जाब लोक कांग्रेसका प्रमुख क्याप्टेन अमरिंदर सिंहले पनि आफ्नो कुर्सी गुमाए। अमरिंदर सिंह आम आदमी पार्टीका अजित सिंह कोहलीसँग पराजित भएका छन् ।
सुखवीर सिंह बादल
शिरोमणि अकाली दलका प्रमुख सुखवीर सिंह बादल पनि चुनाव हारे । उनी जलालाबादबाट चुनाव लडेका थिए । आम आदमी पार्टीका जगदीप कम्बोजले बादललाई हराए ।
प्रकाश सिंह बादल
शिरोमणि अकाली दलका वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री प्रकाश सिंह बादल पछि परेका छन्। आम आदमी पार्टीका उम्मेदवार गुरमीत सिंह खुडियान झण्डै १५ हजार मतले अगाडि छन् ।
अश्विनी शर्मा
पञ्जाब भारतीय जनता पार्टीका अध्यक्ष अश्विनी शर्मा पठानकोट सिटबाट चुनाव लडे। उनले आफ्नो सिट जोगाउन सफल भए । उनी सात हजार मतले विजयी भएका छन् ।
बिक्रम सिंह मजिठिया
शिरोमणि अकाली दलका नेता र नवजोत सिंह सिद्धुका कडा प्रतिद्वन्द्वी विक्रम सिंह मजिठिया पनि अमृतसर पूर्वबाट चुनाव हारे।
वि.सं.२०७८ फागुन २६ बिहीवार १६:३७ मा प्रकाशित






























