काठमाडाैं । रुसले पश्चिमी देशहरुमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार रूसले पश्चिमी देशहरूमा दूरसंचार, चिकित्सा, अटो, कृषि, विद्युतीय र प्राविधिक उपकरणहरू निर्यातमा रोक लगाउने निर्णय गरेको छ ।
यसैबीच, राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले समस्या सिर्जना गर्ने कार्यलाई रोक्न नसके विश्वले मलको मूल्यमा भारी वृद्धिको सामना गर्न सक्ने चेतावनी दिएका छन् । रुसको चेतावनीसँगै पश्चिमा देशहरुमा समस्या बढ्ने देखिएको छ । रुस मलहरूमा प्रयोग हुने कच्चा सामाग्रीहरुको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।
गत महिनाको अन्त्यदेखि युक्रेनमा जारी रुसी हमलालाई ध्यानमा राख्दै पश्चिमी देशहरूले रुसमाथि आर्थिक प्रतिबन्धसहित कडा प्रतिबन्ध लगाउन एकजुट भएका छन् । यस बाहेक कयौं बहुराष्ट्रिय कम्पनीहरुले त्यहाँ आफ्नो कारोबार बन्द गरेका छन् । यसमा धेरै प्राविधिक कम्पनीहरू, म्याकडोनाल्ड र कोका-कोला पनि समावेश छन्।
युक्रेनलाई आईएमएफको सहयोग
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनका लागि आफ्नो आपतकालीन कोषबाट १.४ बिलियन डलर (लगभग १०,५०० करोड रुपैयाँ) सहायता स्वीकृत गरेको छ। रुसी आक्रमणबाट युक्रेनमा भएको क्षतिका कारण उत्पन्न हुने आवश्यकता पूरा गर्न यो सहायता दिइएको हो । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनलाई ५३ मिलियन डलर (करिब ४०५ करोड रुपैयाँ) सहयोग गर्ने घोषणा गरेकी छन् ।
वि.सं.२०७८ फागुन २७ शुक्रवार १२:५४ मा प्रकाशित






























