खोलाघरे सहिंलो, इलाम
गरी मान सोध्दा अझै भाउ खोज्छिन्
कहाँ खोट भेटूँ भनी दाउ खोज्छिन्
यता स्नेहबच्चो म हुर्काउँदैछु
उनी प्रीतिको छिप्पडे माउ खोज्छिन्
स्वयंमा छ के के कमी हेर्नुभन्दा
अरूको रुघा,चोट वा घाउ खोज्छिन्
लुला पाइला, हिंड्न गाह्रो छ बाटो
उनी छिप्पिएका, दह्रा पाउ खोज्छिन्
बनूँ सन्धिसेतू गरूँ शान्ति भन्दा
सधैं गर्न उल्टो र भड्काउ खोज्छिन्
म चाहन्छु पौडी तरूँ प्रीति ताल
उनी तालमा मालको नाउ खोज्छिन्
जमाना पुगेको छ नक्षत्र गन्न
स्वयंलाई थुन्ने उही छाउ खोज्छिन्
बहर : मुतकारिव मुसम्मन सालिम
वि.सं.२०७८ फागुन २८ शनिवार ०८:२४ मा प्रकाशित






























