समीर पाख्रिन, निजगढ, बारा हाल- ललितपुर
शहरको विशाल रङ्गशालामा
लामो समयदेखि
नाटक मञ्चन भइरहेको थियो
कथाले मागें अनुसार
अभिनयमा लिप्त थिए नामुद रङ्गकर्मीहरू
भित्र अनि बाहिर द्वैत चरित्रमा
सडकरूपी प्रेक्षालय खचाखच थियो दर्शकले
बन्दुक, लठ्ठी, छेकवार
पानीको फोहराले
नाटक द्वन्द्धात्मक बनेको थियो
भ्रमित थिए कतिपय दर्शकहरू
देखी पात्र दोहोरो भूमिकामा
खलपात्र फितलो
उही एउटै राग अलापिरहेको थियो
स्यालको निरर्थक हुइँया बीच
नायकद्वय
हात्ती बनेर लम्किरहेका थिए
एउटा डरलाग्दो अभिष्ट बोकेर
नाटक नाटक नै हो
कोही दर्शक नबुझेर
अन्यौलमा परेका थिए
बुझेकाहरू
विद्रोह गरिरहेका थिए
नाराबाजी गरिरहेका थिए
अन्ततः
होहल्लाको बीच
एकाएक लामो ब्याखात्मक सम्वादसँगै
पर्दा खस्दा
दर्शकमा निराशा छाएको थियो
किनकि
दर्शकले ज–जसलाई नायक भन्ठानेका थिए
उनै पात्रद्वय
खलनायकको भूमिकामा देखिए ।
वि.सं.२०७८ फागुन २८ शनिवार ०८:२६ मा प्रकाशित






























