सानू शर्मा,बाफल, काठमाडौं
१
अहङ्कारी मान्छेहरु सोच्छन् आफू मात्र राम्रो
नुन दिई सुन खोज्ने भन्छन् अरुलाई चाम्रो
आफै मपाई गर्ने यी मानवका प्रवृति हुन्,
यसैले पार्छ एकदिन खाल्डामा ज्यान हाम्रो ।
२
बिदेशीको देखासिकी गर्दा मारमा छौं हामी
संसार कहाँ पुगिसक्यो पुछारमा छौं हामी
कहिल्यै सोच आएन घाँटी हेरी हाड् निल्ने,
यस्तो विकृतिले गर्दा ऋण भारमा छौं हामी ।
३
मासु नभै नहुनेलाई मीठो हुन्न रे लौका
त्यसैले गरिबको पसिना चाट्न खोज्छन् मौका
बदमासी गर्दै गुमाउँछन् मान बुद्धि बिग्रेर,
लुट्न पाइनेतिर नै जान्छन् हान्नलाई चौका ।
४
फाइदा देखे काखी पनि च्याप्छन् नदेखे हकार्छन्
अतीत कोट्याई बर्तमान र भविश्य बिर्गाछन्
भोलिका दिन के पर्छ कसलाई के थाहा छ र ?
सुख छ भनी भएका सबै चिजबिज निखार्छन् ।
५
यो दुनियाँ स्वार्थी छ अरुको भर नपर्नु होला
कलियुग हो आफ्नाकै विस्वास नगर्नु होला
मनको राम्रो भन्दा तनको पछि लाग्छन् मान्छे
चिप्लो मीठो बोल्यो भन्दै नजिक नसर्नु होला ।
लेखकको ‘जिन्दगीका पानाहरु’ मुक्तक सङ्ग्रहबाट लिइएको
वि.सं.२०७८ फागुन २८ शनिवार ०८:३८ मा प्रकाशित






























