प्रदिप रत्न शाक्य, बौद्ध, काठमाडौं
म हिजो पनि
आज नै भइरहेको थिएँ
आज पनि
आज नै भइरहेको छु
भोली पनि आज नै भइरहनेछु ।
मेरा सर्वाङ्गले
मलाई
जिउंदो बनाई
आजकै चिनारीमा
उभ्याइरहेका छन् ।
हावापानी !
वातावरणहरूले स्वरुप बदलेर
पुरानो भन्न लगाएनि
नभत्किने साहसले
मलाई वर्तमानकै दर्जामा
हिंडाइरहेका छन् ।
बाटो !
तिमीले अन्यक मोडहरूका
आकार बनी
मलाई
लतार्न खोजे नि
तगारोका शक्ति जन्माएर
पछार्न खोजे नि
पानी बतास आगो झैँ
अतित विहीन गति बगिरहेको छु
आजकै सन्दर्भ हुंदै ।
मैदान, रङ्गमञ्च हुँ
समय परिस्थिति विचारहरूको म
हो म भित्र
घात प्रतिघातहरू खेलिरहन्छ
वेदना समवेदनाका लहर डुलिरहन्छ
जीवन बाँचिरहने प्यासहरू बुन्दै ।
हुँ यात्रु
हुँ लक्षलाई सगुन
हुँ वंशलाई उन्माद
हुँ विद्वत्तालाई स्वाद
त्यसैले प्रहर
बिहान दिन साँझ रात बन्दै
मलाई आज हुनुकै नशामा गनिरहन्छ ।
जल स्थल
आकास बादलका
अभिव्यक्ती सायद
मेरो अस्तित्व
मलाई प्रत्येक सृष्टिको उत्तरदायी भन्दै
आज बनिरहने अनुहार कोरिरहन्छ ।
मेरो जिउनु
मेरो बहनु
अन्त्य विहीन अतृप्ति सायद
अन्त्य विहीन सलह सायद
त्यसैले महत्वकाङ्क्षी आकाङ्क्षाहरू
म तिर बगिरहन्छ
म मान्छे भइरहेको प्रमाण भनेर ।
सायद मेरा पल त्यसैले नै
हिजो पनि आज भएका होलान्
आज पनि आज नै भइरहेका होलान्
भोली पनि आज नै भइरहने होलान्
निर्विवाद ।
वि.सं.२०७८ चैत ५ शनिवार ०७:२७ मा प्रकाशित






























