कनकधारा स्वामी स्वदेशानन्द
गान्तोक, सिक्किम
हत्या मानिसको गरेर सुकिलो को बन्छ होला सदा,
हत्या हुन्छ तितो हुँदैन गुलियो संसारमा सर्वदा ।
हत्या त्यो उपहार हैन कहिल्यै ज्ञानीहरूको पनि,
हत्याले इतिहास गर्वित हुने होला र कैले पनि ।।०१।।
थुप्रै शैशव मर्दछन् रहरका ओछ्यानमा रातमा,
तोडिन्छन् नव कोपिला कुसुमका फुल्नै नपाईकन ।
रुन्छन् धेर वसन्तमा विपिनमा चीत्कार पोखीकन,
मातेका भ्रमरा पराग रसले डुल्ने भए बागमा ।।०२।।
रोज्छन् आपसमा उडी भ्रमरले तेरो र मेरो भनी,
हुन्छन् वस्त्रविहीन फूल बिचरा रुन्चे भयो जीवनी ।
हाँसेनन् कहिल्यै कुनै कसुमले आनन्द मानीकन,
यात्रीका सँगमा मुसुक्क नफुले हुन्थ्यो कहाँ जीवन !।।०३।।
देखेनन् रविले कुनै दिवसमा पर्खाल अग्लो थियो,
हेर्ने कोसिस चन्द्रमा गरिरहे छायाँ नयाँ पर्दथ्यो ।
तारा टिल्टिलि टल्किए गगनमा देखिन्छ होला भनी,
देखेनन् गिरितुङ्गले विटपमा झुन्डी मरेको पनि ।।०४।।
हेर्दा बाहिर फूल मग्मग गरी फुल्ने गरे तापनि,
भित्री क्रुर कथा छ यो विपिनको बुझ्दैन कोही पनि ।
बस्छन् रावण कुम्भकर्ण गिरिमा मानौं तपस्या गरी,
वैदेही गिरिजा बलात्कृत भए जान्दैन कोही हरि !।।०५।।
माया–मोहन–मोहिनी–मगजले गर्दैन मायाँ रति,
माया मारिच धर्म रक्षक भयो गर्ने भए आरती ।
खोलामा कति छन् अवैध शिशुका आमाहरूका शव,
खोजी छैन निखोज छन् शयनमा वैराग्यका वैभव ।।०६।।
झुल्केलान् रवि रश्मियुक्त गिरिमा कालो हटाईकन,
भेटिन्छन् सुँइको अनेक शवका खोला तथा खेतमा ।
धेरै पाप बढ्यो कलङ्कित भए आस्था तथा मन्दिर,
आफ्नो शैशव खोज्दछन् शवहरू आऊ न हे ईश्वर !।।०७।।
छन्द : शार्दूलविक्रीडित
वि.सं.२०७८ चैत १२ शनिवार ०७:०८ मा प्रकाशित






























