back
CTIZAN AD

‘केजरीवाल मोडल’मा जान चाहन्थे विप्लव, तर पार्टीभित्रै अल्पमतमा परे

वि.सं.२०७८ चैत १५ मंगलवार

678 

shares

काठमाडौं । संविधानसभाको दोस्रो निर्वाचन, २०७० देखि नै नेत्रविक्रम चन्द ‘विप्लव’ निरन्तर चुनाव बहिस्कारमा छन् । यसबीचमा उनले व्यवस्थाकै विकल्प खोज्न भन्दै सशस्त्र आन्दोलनको पनि अवधारणा अगाडि सारे । तर, स्पष्ट कार्यनीति नहुँदा विप्लवको सशस्त्रपूर्णं आन्दोलन सफलतातिर अघि बढ्न सकेन । उनी छोटो समयमै सत्तासँग सम्झौता गर्न आइपुगे ।

अहिले विप्लव चुनावी प्रतिस्पर्धाबाटै जनताको पक्षमा काम गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेका छन् । हालै सम्पन्न नेकपाको केन्द्रीय समिति बैठकमा विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले पनि सो विषयलाई स्पष्ट पार्दछ । तर, विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन भने केन्द्रीय समितिले अस्वीकार गरेको छ । उनको प्रतिवेदन पूर्णं संशोधनसहित मात्रै पारित भएको छ ।

नेकपाका नेता धर्मेन्द्र बास्तोलाका अनुसार नेकपा यही व्यवस्थामा चुनावमा जाँदैन । नेकपा केन्द्रीय समिति बैठकले व्यवस्थाको विकल्प खोज्नेगरि भरमग्दुर प्रयास गर्ने निर्णय गरेको उनले बताए । चुनावलाई उपयोग गर्नेगरि विप्लवले राखेको प्रस्ताव झण्डै दुई तिहाई केन्द्रीय सदस्यले अस्वीकार गरेका थिए । ६९ सदस्यीय केन्द्रीय समिति (सल्लाहकारसहित)का २५ सदस्य मात्रै विप्लवको पक्षमा उभिएका थिए ।

‘केजरीवाल मोडल’मा जान चाहन्थे विप्लव

विप्लवनिकटका एक नेताले बताएअनुसार विप्लवले ‘चुनाव उपयोगको प्रस्ताव’ आम आद्मी पार्टीका नेता तथा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको मोडलबाट प्रभावित भएर गरेका थिए । उनले आफ्नो आधार इलाका तथा प्रभाव क्षेत्रमा दिल्लीको मोडलमा जस्तै काम गरेर ‘नमुना’ बनाउने योजना अगाडि सारेका थिए । विप्लवले तत्कालको लागि कपिलवस्तु, रोल्पा, रुकुम र जाजरकोटमा नमूना स्थानीय तहको विकास गर्ने योजना बनाएका थिए । उक्त क्षेत्रलाई नमुना बनाएसँगै त्यसको प्रभावले अन्य क्षेत्रमा चुनाव जित्ने योजना विप्लवको थियो ।

निरन्तरको चुनाव बहिस्कारले पार्टी र जनताबीच सम्बन्ध नबनेको निष्कर्ष विप्लवको छ । मुद्दामात्रै उठाइरहनेभन्दा पनि केजरीवालले दिल्लीमा गरेजस्तै न्यूनतम लोककल्याणकारी राज्यको अवधारणाअनुसार आफ्नो प्रभाव क्षेत्रमा काम गर्ने योजना उनले बनाएका थिए । तर, उनको योजना पार्टीभित्र उनी स्वयम् नै अल्पमतमा परेसँगै तत्कालका लागि ब्रेक भएको छ ।

नेकपाभित्र धर्मेन्द्र र सुदर्शन हाबी

हालै बसेको केन्द्रीय समितिको बैठकमा नीति र विचारको हिसाबले विप्लव कमजोर देखिए भने नेताहरु धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बलिया देखिए । बास्तोला र सुदर्शनको पक्षमा बहुमतभन्दा बढी नेताहरु उभिएका थिए भने निकै सानो संख्यामा मात्रै नेताहरु विप्लवको पक्षमा देखिएका थिए ।

विप्लवको चुनाव उपयोग गर्ने नीतिमा सँगै देखिएका अर्का प्रभावशाली मानिने नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को भने केन्द्रीय समिति बैठकमा निकै ओज घटेको नेताहरुको बुझाई छ । विप्लव नै कमजोर देखिँदा उनको पक्षमा उभिएका प्रकाण्ड बैठकमा अर्थपूर्णं नदेखिएको एक केन्द्रीय सदस्यले बताए ।

सम्बन्धित समाचार

विप्लव आफैं पार्टीभित्र अल्पमतमा परेपछि…

वि.सं.२०७८ चैत १५ मंगलवार १५:२० मा प्रकाशित