काठमाडौं । “कांग्रेसीले सधैँ हसियाँ हथौडामा भोट हाल्दैनन् !” नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले भनाई हो यो । अहिले सत्ता गठबन्धनभित्र चुनावी तालमेल गर्ने विषय केन्द्रमा छ । तालमेलको विषयमा छलफल हुँदा भरतपुर महानगरको चर्चा सबैभन्दा महत्वपूर्णं बनेर आउँछ । तर, भरतपुरको कांग्रेस एक्लै लड्ने योजनामा छ ।
कांग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले भनेका छन्, “केन्द्रले निर्णय लाद्नुहुँदैन, ग्राउण्डका आधारमा चुनावी तालमेल हुन्छ, चितवनमा केन्द्रबाट लादिएको निर्णयले परिणाम दिएन भने जवाफदेहिता चितवन कांग्रेसले लिन सक्दैन ।” खनालले स्पष्ट रुपमा चितवनमा कांग्रेसले माओवादीलाई केन्द्रबाटै निर्णय भएपनि सघाउन नसक्ने स्पष्ट पारेका छन् । जसबाट स्पष्ट हुन्छ, केन्द्रबाट निर्णय भएपनि गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार बनेपनि कांग्रेसले चितवनमा सहयोग गर्दैन । चिवतनको नतिजा अपेक्षाकृत आउँदैन ।
तत्कालिन समय भरतपुर महानगरको निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहाललाई सघाएको थियो । २९ वडामध्ये २ वडामा मात्रै विजयी बनेपनि माओवादी केन्द्रबाट उम्मेदवार बनेकी दाहालले मेयरमा जित हात पारेकी थिइन । उनले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई मात्रै २०३ मतले हराएकी थिइन् । तथापी, त्यहाँ मतपत्र च्यातिएको विषय अझैपनि सशंयमा छ ।
तत्कालिन चुनावी नतिजालाई हेर्दा माओवादी केन्द्र भरतपुरमा कमजोर अवस्थामै देखिन्छ । गठबन्धन बिना माओवादीलाई भरतपुरमा आगामी चुनाव सहज नहुने अनुमान लगाउन सकिन्छ ।
मतको कारण पनि महानगरमा तालमेल कठिन
यसअघिको निर्वाचनको परिणामलाई हेर्दा भरतपुरमा माओवादी प्रतिस्पर्धी देखिन्छ भने वीरगञ्जमा हालको जसपा तर, अन्य महानगरमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै देखिन्छन् । एमाले विभाजनसँगै केही कमजोर भएको कारण सबैजसो महानगर कांग्रेसलाई थप सहज बनेको छ ।
ललितपुर र विराटनगर यसअघि पनि कांग्रेसले जितेको थियो । ललितपुर र विराटनगर बाहेकका अन्य महानगरमा पनि कांग्रेसलाई एमाले विभाजनको थप फाइदा हुने अनुमान लगाउन सकिन्छ ।
यता, काठमाडौं र पोखरामा एमालेले अत्याधिक मतसहित चुनाव जितेको थियो । तर, दुवै महानगरमा एमाले निकै नै अलोकप्रिय बनेको छ । जसको फाइदा कांग्रेसलाई सोझै पर्ने देखिन्छ ।
भरतपुर र वीरगञ्ज बाहेकका बाँकी महानगरमा कांग्रेसलाई सघाउने मत गठबन्धनको निकै कमजोर छ । विराटनगरमा जसपाले केही सघाउने सम्भावना भएपनि अन्य क्षेत्रमा कांग्रेसलाई सघाउने मत कमजोर छ । मत कमजोर भएकै कारण महानगरमा चुनावी तालमेल अर्थपूर्णं देखिन्न । यसअघिको निर्वाचनमा भरतपुुरमा बाहेक अन्य ठाउँमा तालमेलले खासै प्रभाव पारेको देखिएको थिएन ।
गठबन्धनको बैठकमा चुनावी तालमेल गर्ने विषयमा सहमति भएको भएपनि कांग्रेसले महानगर र उपमहानगरबाहेकका अन्य स्थानीय तहमा केन्द्रबाट हस्तक्षेप नगर्ने निर्णय गरेको छ । तालमेलको विषय स्थानीय तहले नै निर्णय गर्ने कांग्रेसको निर्णयले तालमेलको निर्णय त्यति अथपूर्णं देखिन्न ।
कांग्रेसभित्रै तालेमलको विपक्षमा मत
सत्तारुढ नेपाली कांग्रेसले तालमेलको निर्णय गरेको भएपनि कांग्रेसभित्रै तालमेल नगर्ने पक्षमा ठूलो मत छ । शेखर कोइराला पक्षले निरन्तर तालमेल गर्न नहुने भनाई राख्दै आएको छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेको भएपनि कोइराला पक्षले ‘केन्द्रबाट हुने हस्तक्षेप अमान्य’ हुने स्पष्ट पारेको छ ।
सत्ता गठबन्धनबाट तालमेलको निर्णय गरेलगत्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तालमेलबारे दिएको अभिव्यक्ति अर्थपूर्णं देखिन्छ । उनले स्पष्ट रुपमै ‘केन्द्रबाट गठबन्धन नथोपर्ने निर्णय केन्द्रीय समितिको संस्थागत निर्णय’ भएको बताएका छन् । उनले थोपर्ने निर्णय भए त्यो व्यवहारिक नहुने र अनपेक्षित परिणाम आउने स्पष्ट पारेका छन् । जुन अभिव्यक्ति निकै अर्थपूर्णं देखिन्छ ।
सम्बन्धित समाचार
गठबन्धन दलहरूबीच मात्रै चुनावी तालमेल हुने, केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र निर्माण गरिने
वि.सं.२०७८ चैत १७ बिहीवार १८:४३ मा प्रकाशित






























