ओम आचार्य, अर्घाखाँची
जनहो जग आधार, जनैहो सबको बल
जन बिना जगै छैन,हो मरूभूमिको जल ।
जनैहो शक्तिको श्रोत, हो नि त्यो प्राण वायु नै
लुकी भित्रै बसेको छ,राज आसन आयु भै ।१।
आउने भर आशा हो, दोहरी फर्कने पनि
नगरे भर आधार,तर्केला अरुकै बनी ।
सहन्न अपमानै त्यो, रहन्न मतमा गनी
बाचा बन्धनमा अड्छ,ख्याल गर्छ उसै पनि ।२।
आदर गर सत्कार,नगर अवहेलना
न गर मान हानी लौ ,नगर थप ताडना ।
बाँडेको सपना खै त,भएन बिपना किन ?
बिसाई गरुँ के बिन्ती, मान्दैनौ किन हो घिन ?।३।
आएथ्यौ कसरी सोंच,गाएथ्यौ गीत लौ कति ?
देखाको नाटकै थ्यो कि, झुटा थ्यो कि भने जति ।
मन तिन्को दुखेकोछ, दुखेको छ दिलै पनि
पुकार बिपतैमा छन्,राहात लिन लौ भनी ।४।
सोंच लौ धैर्यता साथ, रोज लौ गतिलो पथ
संझी बाचा हिजो आफ्नो, हाँक्छौ कि जनको रथ
घाम छँदै हिडी जाऊ, रात पर्ला ढिलो गरे
अँध्यारोमा हराएर, पछुतो आउला भरे ।५।
छन्द : अनुष्टुप
वि.सं.२०७८ चैत १९ शनिवार ०८:०३ मा प्रकाशित






























