पबित्रा चाम्लिङ, खोटाङ
१.
परदेशमा बुबाले रगत र पसिना, बगाएर कमाको छ
सन्तान यता सुख र सुबिधा बीचमा, बसेर रमाको छ
खै ! कस्ले बुझ्छ दर्द पिडा, हेर्दा देख्छ आनन्द क्रीडा
कति समस्या त आमाले नै, सकि नसकि थमाको छ ।
२.
अब कसरी पस्केर खान्छौ,पन्यौ भुइँमा खस्यो भने
माहुरीको घारमा अरिङाल गोला,आएर पस्यो भने
उपचार चाहिँ गर्दैगर्नु, तर ढुक्क भर भने पर्दै नपर्नु
पुनर्जिवन पाउँदैन भन्छन्, गोमन साँपले डस्यो भने ।
३.
गरिब मान्छेलाई कहिल्यै तिमीले, दिन्छु नभन्नु
पबित्र प्रेमलाई रुपैयाँ र पैसामा, किन्छु नभन्नु
जून बन शितल दिन, लोभी बन्छौ आज किन
तन बन्धक राख्न लगाई,फाईदा लिन्छु नभन्नु ।
४.
मलाई छोडेर जाने भएपछि,सुटुक्क जाँदा हुन्थ्यो
तिमीले दिएको सिंदुर पोते,साथैमा लाँदा हुन्थ्यो
यदि तिमीले बुझ्थ्यौ भने,मनले ईश्वर पुज्थ्यौ भने
अग्नि साच्छि राखेर, झुटो कसम नखाँदा हुन्थ्यो ।
५.
पुर्खाहरूले जहाँ टेक्यो त्यही, माटोको माया लाग्छ
झोर र जङ्गल फाँड्दै हिंडेको, बाटोको माया लाग्छ
दौरासंगै चौबन्दी फाटे पनि, सहरमा सुख काटेपनि
झाले र माले गोरुलाई जोत्ने, पाटोको माया लाग्छ ।
वि.सं.२०७८ चैत १९ शनिवार ०८:०५ मा प्रकाशित






























