वसन्त अनुभव
घोराही उपमहानगरपालिका -१४, दाङ
‘आज अफिस पछि मिटिङ छ । डक्टरकोमा रिपोर्ट लिन जान भ्याउँदिनँ । प्लिज कविता ! तिमीले कलेक्ट गर है ।’ लोग्नेले अफिस हिड्दै गर्दा भन्यो ।
उसले सहमतिमा मुन्टो हल्लाई र क्लिनिक पुगेर रिपोर्ट लिएर आई । बेलुका लोग्नेले रिपोर्ट बारे जिज्ञासा राखे ।
‘माफ गर्नु हजुर ! मैले हजुरलाई सन्तान सुख दिन नसक्ने भएँ । (रुदै ) म कहिल्यै आमा बन्न सक्दिनँ रे ?’ उसले टाउको पिट्दै भनी ।
‘तिमी चिन्ता नगर कविता ! राम्रो डाक्टरलाई देखाउँला ! उपचार गराउँला । भैहाल्छ नी । त्यत्तिले नभए धर्म पुत्र राखौला ।’ लोग्नेले संझाउने प्रयत्न गर्यो ।
परिवार, घर, टोल हुँदै ऊ आमा बन्न नसक्ने कुरा जताततै फैलियो । बाँझी, कुल्टा आदि भनेर हेलाँ, छेडछाड गर्न थाले । सन्तानका निम्ति अर्को बिहे गर्न उसको लोग्नेमाथि सबैले दबाब दिन थाले । पहिले इन्कार गरेपनि पछि पछि उसको लोग्ने पनि सहमत हुँदै गएको देखियो । त्यस कुराले उसलाई निकै चिन्तित गरायो ।
चिन्तै चिन्ताले एकदिन ऊ बेहोस भई । तत्काल लोग्नेले अस्पताल पुर्यायो ।
‘मलाई यस्तै परिस्थिति सृजना हुन्छ भन्ने त लागेकै थियोे । तपाईंको लोग्ने कहिल्यै बाबु बन्न नसक्ने कुरो लुकाएर ठुलो गल्ती गर्नुभयो । अब त भनिदिनोस् सत्य कुरा। कि म भनिदिऊ उहाँलाई ?’ डाक्टरले सबै कुरा सुनिसके पछि भनिन् ।
‘होइन डाक्टर साब ! सारा संसारले मलाई बाँझी, बैला जेसुकै भनोस्, जस्तोसुकै ब्यवहार गरोस् सबै सहन्छु । तर उहाँमाथि औंला उठाएको म कदापि सहन सक्दैन ।’ उसले विनम्र अनुरोध गर्दै भनी ।
अस्पतालको ढोका छेउबाट सबै कुरो सुनिरहेको लोग्ने निःशब्द भयो । केवल आँखामात्र वर्षिए ।
वि.सं.२०७८ चैत २६ शनिवार ०७:४९ मा प्रकाशित






























