कृष्ण बाउसे
भइरहन्छन्
विविध दुर्घटनाहरू जीवनमा
तर
’के जीवन भनेकै दुर्घटना हो ?’
धेरैले धेरै पटक गरिसकेको यो प्रश्न
फेरि यसबेला
म आफैलाई गरिरहेछु
आफू जन्मेका दिनदेखि
आफ्नै कारण घटित दुर्घटनाहरूलाई सम्झँदै ।
मद्वारा घटित दुर्घटनाहरू
सधै
कसै न कसैकालागि
जीवन–मरणका प्रश्नहरू भएका छन् ।
मद्वारा घटित दुर्घटनाहरू
सधै
मलाई आशाको नजरले हेर्ने मेरा स्वजनका
अभिषापका कारणहरू भएका छन् ।
अर्को दुर्घटना !
जो मैले घटित गराएको नभइदिए हुन्थ्यो
र जसको सजायको लागि
मैले फेरि
अर्को दुर्घटनाको प्रतीक्षा गर्नु नपरे हुन्थ्यो
र अहिले जसरी
केवल बाँच्नकैलागि
पश्चाताप र प्रायश्चित्त गर्नु नपरे हुन्थ्यो ।
अरूको के कुरा गरौँ !
मैले गराएका दुर्घटनाहरूकै कारण
छिद्रैछिद्र परेको पानी जहाजमा
यात्रारत छिन् मेरो जन्मभूमि बोकेकी मेरी जन्मदातृ
र हरबखत
सबैका सामु हारगुहारको चित्कार गरिरहेकी छिन् ।
अन्जानहरूले मलाई सफाइ दिएर के भो !
म उम्कन सक्दिनँ
मैले आफै आत्मसात गरेका आरोपहरूबाट
– पिल्स्याउदै र पिल्सिदै आफैले लगाएका वन–डढेलाहरूबाट
– पुर्दै र पुरिँदै आफैले पहाड खोस्रेर निम्त्याएका पहिराहरूबाट
– तर्साउदै र तर्सदै आफैले बनाएका हृदयहीन रोबोटहरूबाट
त्यसैले त भन्दै छु –
दुर्घटना गराए बापतको सजायको लागि
म फेरि अर्को दुर्घटनाको प्रतीक्षा गरिरहेको छु ।
अर्को दुर्घटना !
जो मैले घटित गराएको नभइदिए हुन्थ्यो
र जसको सजायको लागि
मैले फेरि
अर्को दुर्घटनाको प्रतीक्षा गर्नु नपरे हुन्थ्यो
र अहिले जसरी
केवल बाँच्नकैलागि
पश्चाताप र प्रायश्चित्त गर्नु नपरे हुन्थ्यो ।
तर,
के यस धर्तीले
म साँच्चै नै श्रापमुक्त भएको त्यो दिन
चाँडै नै देख्न पाउला ?
वि.सं.२०७८ चैत २६ शनिवार ०७:५१ मा प्रकाशित






























