आर्यश शर्मा घिमिरे, ललितपुर
केही दिनदेखी म
गहिरो विचार मन्थनमा छु
हरेक मध्यरात
बलात्कृत हुन्छ मस्तिष्क
र तिम्रा यादहरु
मेरा अंगहरु स्पर्श गर्दै
स्खलित हुन्छन् आँखाबाट‘!
बडो जतनले राखेको थिएँ
केही कविताका किताबहरु
तिमिलाई उपहार दिन
हाम्रो मिलनको रात‘!
त्यही नालायक रातहरु मध्यको–
एक रात,
जो लायकै छैन उज्यालोको
ठूलामा ठूला ताराहरु देखि
सानामा साना जूनकिरीसम्म
असक्षम छन्
यो रातलाई विधुवा बनाउन
डायरीको श्वेत कागजमा
वर्णमालाहरु सँग खेल्दै
मस्तिष्कहरुको सम्भोग गर्दैछु
कतै, चेतनाको स्खलनपछी
भावनाहरु गर्भवती हुन्छन् र‘
कविताहरुको जन्म हुन्छ कि भनेर !
म समयसँग सम्भोग गरेर
कविता जन्माउन खोज्दैछु
उल्टो समयले नै मलाई
निर्मम बलात्कार गरिरहेछ
यो कस्तो प्रेम ! ?
अदृश्य भएर पनि..,
सबथोक देखिने प्रेम ! ?
अँ साँच्ची !
प्रेम कविता जस्तो हुन्छ कि‘,
ईश्वरजस्तो रहस्यमयी हुन्छ ?
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५९ मा प्रकाशित






























