उत्तम विचार, काठमाडौं
यो नेपाल अशान्तिले जलिरह्यो देख्दैनझैँ शासक
कुर्सीका मदमा परेर दुनियाँ खोज्छन् अ–आफ्ना हक ।
आशाकै भरमा झरे कलि यहाँ लिन्छन् मिली हुर्मत
के पाए जनले हिजो मुलुकमा सुम्पेर आफ्नो मत ।।१।
सारा स्वप्न टुटे सिसा बनी यहाँ देखेर के पाइयो
भन्छौ कानुन लेखियो मुलुकमा लेखेर के पाइयो ।
बन्दीको चिडिया बन्यो मनुजता को तोड्छ त्यो बन्धन
देला हर्ष न ता छ विस्मय कुनै आएर निर्वाचन ।।२।
हाम्रा मानिस तानिए सदनमा राम्रा हराए कता
त्यस्ताकै पछि लाग्दछन् सबजना पार्छन् किझैँ बाध्यता ।
देलान् भोट तथापि छैन तिनको विश्वास घट्दै गयो
श्रीलंका पथमा हिँड्यो मुलुक यो खै के भयो के भयो ।।३।
पुग्छन् दैनिक हेलिकप्टर चढी दिन्छन् ठुला भाषण
आशामा दिनरात काट्छ निमुखा पाएर आश्वासन ।
हट्ला बादल व्योमबाट रविले आएन हेर्ने दिन
कुर्सी खातिर टाउका सबमिले चाहिन्न निर्वाचन ।।४।
फेर्छन् पात्र नयाँ प्रवृत्ति तिनले फेर्दै नफेर्ने भए
बाङ्गो पुच्छर सोझिएन सहजै हुन् श्वान ती निश्चय ।
काला कर्तुत छोपिए दिनदिनै सेतो बनाए धन
होला काग र बेलको कथनझैँ आएर निर्वाचन ।।५।
छन्द ः शार्दूलविक्रीडित
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:३३ मा प्रकाशित






























