भुवन शिवाकोटी चौघरे, काठमाडौ
पुस्तकभित्रका अक्षरहरू
जतिसुकै धारिला भए पनि
आँखा काटदैनन्
जतिसुकै तिखा भए पनि
घोच्दैनन्
जतिसुकै आगोका फिलुङ्गा भए पनि
पोल्दैनन्
जतिसुकै आँधी हूरी भए पनि
उडाउदैनन्
जतिसुकै शीतल भए पनि
मुटुमा रगत
चिसो बनाउदैनन्
जति नै कमजोर भए पनि
भाँचिदैनन्
पेचिला शब्दहरू छन्
र म
पुस्तकसँग प्रेम गर्छु
बगैंचामा
जति नै काँडाभित्र फुलेका फूल भए पनि
फूलहरू मगमगाउन छोड्दैनन्
फूलले विभेद गर्दैन
इर्श्या र लोभ गर्दैनन्
काँडाहरू जति नै तिखा भएपनि
आँखा बिझाउदैन
र म
फूलसँग प्रेम गर्छु
तर
जब घरको गग्रेटोमा
छाती थिलथिलो भएको अचानो देख्छु
दापमा घुसारिएको खुकुरी देख्छु
र
खुकुरी र अचानोको सम्बन्ध सम्झन्छु
मलाई
घृणामात्र लाग्छ ।
वि.सं.२०७९ वैशाख १७ शनिवार ०८:३८ मा प्रकाशित






























